क्षतिपुर्ति दिएर माथिल्लो कर्णालीको काम अघि बढाउन भारतीय कम्पनीसँग स्थानियको माग

Posted on: June 18, 2016 | views: 284

४ असार, काठमाडौं ।
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका प्रभावितले आफूहरूलाई चित्त बुझाएर तत्काल परियोजना निर्माणको काम अघि बढाउन भारतीय लगानीकर्ता कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव 'जिएमआर'को ध्यानाकर्षण गराएका छन् ।

व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समिति र लगानी बोर्डको कार्यालयले आयोजना प्रभावित क्षेत्रमा गरेको स्थलगत अवलोकन तथा अन्तक्र्रिया कार्यक्रममा उनीहरूले सो आग्रह गरेका हुन् ।

भारतीय लगानीकर्ता कम्पनी जिएमआरले आगामी असोज ३ गतेभित्र वित्तीय व्यवस्थापन गरी आयोजनाको निर्माण सुरु गर्नुपर्ने समयसीमा रहेको सन्दर्भमा स्थानीयवासीले परियोजना मुलुक र जनताको हितमा समेत केन्द्रीत गर्न ध्यानाकर्षण गराएका हुन् ।

आयोजना मुलुकको हितमा नरहेको भन्दै केही राजनीतिक दल तथा सरोकार भएका विभिन्न पक्षले विरोध गरिरहेको बेला प्रत्यक्ष रुपमा प्रभावित दैलेखको सात्तला, अछामको भैरवस्थानलगायत गाविसका जनताले  भने मुआब्जा वितरण, पुनःस्थापना तथा पुर्नबासको काममा विशेष ध्यान दिएर स्थानीयवासीको मन जित्न आग्रह गरे ।

स्थानीयवासीले विशेष गरी सेयर वितरण प्रक्रिया, स्थानीयवासीको रोजगारी, प्राकृतिक स्रोत तथा साधनको संरक्षणको विधि तथा प्रक्रिया पारदर्शी हुनुपर्नेमा जोड दिएको समाचार संस्था राससले जनाएको छ ।