कुल गार्हस्थ्य उत्पादन अत्यन्त न्यून

Posted on: May 26, 2016 | views: 393

१३ जेठ, काठमाडौं ।
सरकारले सदनसमक्ष आर्थिक वर्ष २०७२/७३ को आर्थिक सर्वेक्षण आज प्रस्तुत गरेको छ । 

सर्वेक्षणअनुसार चालु आवमा मुलुकको कुल गार्हस्थ्य उत्पादन ० दशमलव ७७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । गत वर्ष त्यस्तो वृद्धिदर २ दशमलव ३२ प्रतिशत थियो ।

कृषि क्षेत्रको वृद्धिमा कमी, भूकम्पको प्रभावबाट गैरकृषि क्षेत्रका गतिविधिमा अधिक प्रभाव र भारतसँगको सीमा क्षेत्रमा भएको अवरोध र आपूर्तिमा त्यसबाट उत्पन्न व्यवधानले आर्थिक वृद्धि हुन नबसकेको  उल्लेख छ ।

चालु आवमा कृषि क्षेत्रको उत्पादन १ दशमलव ३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ भने गैरकृषि क्षेत्रको वृद्धि ० दशमलव ६ प्रतिशतले बढोत्तरी हुने प्रक्षेपण गरिएको छ ।

चालु आवमा उद्योग क्षेत्रको उत्पादनमा ६ दशमलव ३ प्रतिशतले कमी आएको देखाइएकोछ भने सेवा क्षेत्रको उत्पादनमा २ दशमलव ७ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।

मुलुकको अर्थतन्त्रमा संरचनागत परिवर्तनसँगै कुल गार्हस्थ्य उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान नगण्य रह्यो भने सेवा क्षेत्रको योगदान क्रमशः वृद्धि उन्मुख छ ।

त्यसैगरी कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दो क्रममा रहे पनि गैरकृषि क्षेत्रको योगदानमा भने वृद्धि हुँदै आएको छ ।

चालु आवमा कुल राजस्व परिचालन रु चार खर्ब ७५ अर्ब एक करोड रहने अनुमान गरिएकामा बितेका आठ महिनामा रु दुई खर्ब ३१ अर्ब सात करोडमात्र सङ्कलन भएको छ ।

गत आवको तुलनामा चालु आवमा मूल्य वृद्धि अनपेक्षित रुपमा बढेको सर्वेक्षणमा उल्लेख छ ।


चालु आवमा मुलुकको कुल खाद्यान्न उत्पादन (धान, गहुँ, मकै, कोदो, जौ र फापर) गत आवको तुलनामा छ प्रतिशतले घट्ने अनुमान गरिएको छ । मौसमी प्रतिकूलता, सीमा नाकामा भएको अवरोधले मल र इन्धन ढुवानी समयमै नहुँदा भूमिगत सिँचाइमा परेको प्रभावले अन्नबाली उत्पादन कम हुने प्रक्षेपण गरिएको छ ।