खान नहुने मैदाबाट चाउमिन

Posted on: May 23, 2016 | views: 307

१० जेठ, पर्वत ।
जिल्ला खाद्य निरिक्षण इकाई कास्की सहितको आइतबार कुश्मा बजारका विभिन्न प्रकृतिका ९ पसल तथा खाद्य उद्योगहरु अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वत, जिल्ला घरेलु तथा साना उद्योग विकास समिति, उद्योग बाणिज्य संघ पर्वत, उपभोक्ता मञ्च, जिल्ला प्रहरी कार्यालय पर्वत लगायतको सहभागितामा संयुक्त बजार अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा सन्देश चाउमिन उद्योग कुश्मा १ सय ४० बोरा मैदा म्याद गुज्रिएको पाइएकाले उक्त मैदालाई यथास्थानमा नै नियन्त्रणमा राखेर २४ घण्टा भित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुनका लागि पुर्जी काटिएको अनुगमन टोलीका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी प्रविण ढकालले  जानकारी दिए ।

अनुगमनका क्रममा नै दामोदर किराना स्टोर्स बडागाउँमा म्याद गुज्रिएको २०० ग्रामका १४ प्याकेट पापड रोहबरमा नै नष्ट गरिएको अनुगमन टोलीका बालकृष्ण पौडेलले जानकारी दिए ।

अनुगमन कार्यमा जिल्ला खाद्य निरिक्षण इकाइ कास्कीका खाद्य निरिक्षक गिता पौडेलको समेत उपस्थिति रहेको थियो । अनुगमन टोलीले २ वटा पाउरोटी उद्योग, २ वटा चाउमिन उद्योग, २ होटल र ३ किराना पसलको अनुगमन गरेको थियो । उक्त अनुगमनबाट धनियाँ, दालमोट, चकलेट र बेसनलाई गुणस्तर मापनका लागि प्रयोग शालामा पठाइएको टोलीले जनाएको छ ।

अनुगमनका क्रममा सवै स्थानहरुमा मुल्यसुचि अनिवार्य राख्ने, होटलहरु सफा सुग्घर राख्ने, होटल तथा उद्योगमा काम गर्ने कामदारलाई सरसफाई तबरबाट राख्ने लगायतका निर्देशन दिइएको बताए ।