भन्सार छुटको इन्धन निजी पम्पमा खन्याउने भारतीय टयांकर सहित ४ पक्राउ

Posted on: May 19, 2016 | views: 129

६ जेठ, विरगञ्ज ।
पर्साको अलौंमा निर्माणाधिन एकीकृत भन्सार जांचचौकी (आइसिपी) परियोजनाका  लागि भन्सार छुटमा भारतबाट आयात गरिएको तेल निजी पेट्रोल पम्पमा खन्याईरहेको अवस्थामा गएराति एक भारतीय नम्बरको ट्यांकरसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारत तथा तेस्रो मुलुकसंगको आयात–निर्यात व्यापार सहज बनाउन महत्वपूर्ण मानिएको एकीकृत भन्सार जांच चौकी निर्माण कार्य अहिले तिव्र रुपमा नेपाल तथा भारत तर्फ एक साथ भई रहेको छ ।

अत्याधुनिक सुबिधासम्पन्न भन्सार कार्यालय स्थापनाका लागि इन्धन आयातमा भन्सारलगायत सबैजसो कर छुट दिने सम्झौता अनुसार उक्त तेल भारतबाट आएको थियो । तर, एकीकृत भन्सार चौकी निर्माणका लागि आएको तेल गैरकानुनी तरिकारले निजी पेट्रोल पम्पमा खन्याइएकोले ट्यांकरसहित ४ जनालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताउनु भयो ।

डब्लुबि ५३ डी ८४१६ नम्बरको भारतीय ट्यांकरसहित पक्राउ पर्नेमा चालक धर्मेन्द्र साहसहित मुख्य ठेकेदार कम्पनी केएस सफ्टनेट जेभी सोलुशनका कर्मचारीहरु नितिन कुमार, सुरेश कुमार र कृष्णदेव प्रसाद रहेका छन् ।

वीरगन्ज भन्सार कार्यालयका निमित्त भन्सार प्रमुख लोकराज पन्तका अनुसार सो ट्यांकर १२ हजार लिटर डिजेल लिएर सहुलियतको प्रज्ञापन पत्रमा हिजो साँझ नेपाल भित्रिएको थियो । यता राति १० बजे वीरगन्ज अलौस्थित श्रीराम आयल पेट्रोल पम्पमा तेल खन्याएर निस्किँदै गर्दा वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले नियन्त्रणमा लिएको थियो ।

भन्सार महशुलको २ रुपैयाँ, १३ प्रतिशतले भ्याट ३ रुपैयाँ ६७ पैसा र ५० पैसा प्रदुषण नियन्त्रण शुल्क गरी ६ रुपैयाँ १६ पैसा प्रतिलिटर सहुलियमा यो डिजेल आयात भएको हो । निर्माण कम्पनीका माहाप्रबन्धक एससी दासले भने आफूहरुले बन्दताका सापटी लिएको तेल पेट्रोल पम्पलाई फिर्ता दिन ट्यांकर पठाएको बताउनु भयो ।