साताभर सेयर र सुन चाँदीको भाउ

Posted on: May 03, 2016 | views: 412

१९ बैशाख, काठमाडौं ।

यो साता शेयर बजारको परिसूचक नेप्से साताको पहिलो दिनको तुलनामा १०.५६ अंकले बढेर अन्तिम दिन १४६४.९१ अंकमा पुगेको छ । यो साता शेयर बजारको कारोवार पनि गत साताको भन्दा ५.२८ प्रतिशतले बढेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १४१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २० हजार ४ सय ६४ कारोबारहरु बाट चार अर्ब ५९ करोड ९५ लाख २५ हजार रुपैयाँ बराबरका ६९ लाख ३५ हजार तिन सय ९० कित्ता सेयरहरु किनबेच भएका छन् ।  

यसैगरी यो साता समूहगत परिसूचक तर्फ विकास बैक, होटेल , बिमा, उत्पादनमूलक  समूहको कारोवारमा सुधार भएको छ भने बाणिज्य बैक, वित्त, जलविद्युत र अन्य समूहको कारोवार घटेको छ ।  

यो साता कारोबार रकमको आधारमा स्ट्यान्डर्ड चार्टड बैंक, कारोबार भएको सेयर संख्याको आधारमा नेसनल हाईड्रोपावर कम्पनी लिमिटेड र कारोबार संख्याको आधारमा नेपाल बंगलादेश बैंक लिमीटेड अग्रस्थानमा रहेको छ ।

यो साता नेपाली बजारमा सुनको भाउ १७ सय रुपैयाँले बढेको छ । साताको सुरुमा सुनको भाउ सामान्य बढेपनि अन्तिम दिनतिर भने उल्लेखनीय रुपमा बढेको छ ।

शुक्रबार एकैदिन सुनको भाउ १२ सय रुपैयाँले बढेको छ । साताको पहिलो दिन ५४ हजार ८ सय रुपैयाँमा किनबेच भएको सुन अन्तिम दिन शुक्रबार ५६ हजार ५ सय रुपैयाँमा किनबेच हुन पुग्यो ।

अमेरिकी गैह्रकृषि बेरोजगार दर ४२ वर्षयताकै सबैभन्दा कम रही अनुकल अवस्था रहेपनि यो वर्षको पहिलो त्रैमासिक गार्हस्थ उत्पादन दुई वर्ष यताकै खराब स्थितिमा पुगेकाले डलर सामान्य अवमूल्यन भएपछि सुरक्षित लगानीका लािग सुनको माग चुलिँदा भाउ बढेको हो ।