धितोपत्र सुचीकरणसम्बन्धी छुट्टै विनियमावली बनाउन निर्देशन

Posted on: May 02, 2016 | views: 200

७ बैशाख, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र सुचीकरणसम्बन्धी छुट्टै विनियमावली तयार गरी यथाशीघ्र बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई निर्देशन दिएको छ ।

विगतको तुलनामा हाल सूचिकृत संगठित संस्थाहरु धेरै गुणा बढेको, धितोपत्र कारोबार प्रणाली पूर्ण स्वचालित भएकार र धितोपत्र बजारमा धेरै परिवर्तनहरु भएका कारण विद्यमान धितोपत्र सूचीकरण सम्बन्धी व्यवस्थामा समय सापेक्ष सुधार एवं परिवर्तन गर्न आवश्यक भएकाले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई त्यस्तो निर्देशन दिइएको बोर्डले जनाएको छ ।

विगत २० वर्षयता पूँजीबजार र आर्थिक लगायत अन्य परिसूचकहरुको विकासका आधारमा हाल कायम रहेको २०५३ सालको सूचीकरण व्यवस्थाले कम्पनीहरुको यथार्थ स्तर मापन हुन नसकेकाले यथाशीघ्र धितोपपत्र सूचीकरणसम्बन्धी छुट्टै विनियमावली तयार गरी पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिइएको बोर्डले सोमबार जारी गरेको प्रेस–विज्ञप्तिमा जनाइएको छ ।
 
शेयर बजारको परिसूचक नेप्से सोमबार १९.१७ अंकले बढेर हालसम्मकै उच्च विन्दु अर्थात १ हजार ४२८.६ पुगेको छ ।

शेयर बजारमा १३३ कम्पनीका १९ लाख ४९ हजार कित्ता शेयरको किनबेचबाट ९० करोड ६७ लाख रुपियाँको कारोबार भएको छ ।

शेयर बजारमा सबैभन्दा बढी बीमा समूह १२३.५ अंकले बढेको छ भने बैंकिङ समूह २१.८५, होटल समूह ३०।७७, विकास बैंक समूह २०.९४ र जलविद्युत १४ अंकले बढेको छ ।