अपहरणको नाटक गरी बाबुसँग फिरौती माग

Posted on: May 02, 2016 | views: 174

काठमाडौं,बैशाख ४ । अपहरणमा परेको नाटक गरेर विदेशमा बस्ने बाबुसँग पाँच लाख माग गर्ने एक युवा पक्राउ परेका छन् । सिरहा घर भई विराटनगरमा बसेर सिभिल इन्जिनियरिङ पढ्दै गरेका १९ वर्षीया कृष्णकुमार साफी बाबुसँग फिरौती माग गरेको आरोपमा पक्राउ परेका आजको नयाँ पत्रिका देनिकले जनाएको छ ।
विराटनगरको एक गेस्टहाउसमा बसेर वैदेशिक रोजगारीमा रहेका बाबुसँग उनले फिरौती रकम माग गरेको प्रहरीले जनाएको छ ।

कृष्णकुमारले आफू अपहरणमा परेको र तत्काल पाँच लाख नदिए ज्यानसमेत लिने धम्की दिँदै घरपरिवार र विदेशमा रहेका आफ्ना बाबुलाई एसएमएस पठाएका थिए । छोरा अपहरण परेको सूचना आएको जानकारी परिवारमार्फत पाएपछि मोरङ प्रहरीले कृष्णले प्रयोग गरेको मोबाइल ट्रेस गरेर खोजी थाल्यो । खोजीका क्रममै उनी बिहीबार विराटनगरको एक गेस्टहाउसमा फेलापरेका थिए ।

पक्राउ परेपछि कृष्णले आफूले जिस्किएर बाबु र परिवारलाई अपहरणको सूचना पठाएको प्रहरीलाई बयान दिएका छन् । बाबुसँग पाँच लाख माग्नुपर्ने कारण भने उनले अझै खुलाएका छैनन् ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र सिंह थापाले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको  जनाए ।