अर्बौं राजश्ल लुट्न खोज्ने एनसेललाई कर लगाउन पत्राचार

Posted on: May 02, 2016 | views: 264

२ बैशाख, काठमाडौं ।
एक्सिएटाले मागेको पूर्वादेश खारेज
एनसेलको नयाँ लगानीकर्ता मलेसियाको एक्सिएटाले खरिदबिक्रीमा कर नलगाउन मागेको पूर्वादेश आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले खारेज गरेका छन् ।
 
पूर्वादेश माग गरेको चार महिनापछि शर्माले मंगलबार यसलाई खारेज गर्दै कर निर्धारण गर्न ठूला करदाता कार्यालयलाई बाटो खुला गरिदिएका छन् ।महानिर्देशकको निर्णयसँगै एनसेलको स्वामित्व हस्तान्तरणमा पुँजीगत लाभकर तिराउने प्रक्रिया सुरु भएको छ । कर तिर्नुपर्छ र तिर्नुपर्दैन भनेर दुई पक्षमा विभाजित कर्मचारीतन्त्र र राजनीतिक नेतृत्व टेलियासोनेराले स्वामित्व एक्सिएटामा हस्तान्तरण भएको विज्ञप्ति जारी गरेपछि एकाएक तातेका हुन् ।
 
विभागका महानिर्देशक शर्माले एनसेलसँग कर असुली गर्न ठूला करदाता कार्यालयलाई चिठी लेखेका छन् । शर्माले आयकर ऐनको दफा ९५ बमोजिम कर असुली गर्नु भन्ने बेहोराको चिठी मंगलबार राति ९ बजे ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक शोभाकान्त पौडेललाई दिएका छन् ।
 
शर्माले कर लगाउन नपर्ने गरी पूर्वादेश जारी गरी पाऊँ भनी एक्सिएटाले दिएको निवेदन खारेज गरिएको भन्दै कर असुली गर्न चिठी दिएका छन् । ठूला करदाता कार्यालयले १५ दिनभित्र कर बुझाउनु भन्ने बेहोराको चिठी बिहीबार एनसेललाई बुझाउँदैछ ।
 
एनसेलको स्वामित्व हस्तान्तरणको घोषणा चार महिनाअघि नै भएको थियो । स्वामित्व हस्तान्तरणमा स्थानीय लगानीकर्ता निरजगोविन्द श्रेष्ठबाट सुनिभेरा इन्भेस्टमेन्ट (भावनासिंह श्रेष्ठ) लाई बिक्री गरिएको २० प्रतिशत स्वामित्व हस्तान्तरणमा पुँजीगत लाभकर तिर्नपर्ने तर ८० प्रतिशत सेयर बिक्रीमा कर तिर्न नपर्ने जिकिर टेलियासोनेराले गरेको थियो ।
 
खरिदकर्ता एक्सिएटाले पुँजीगत लाभकर तिर्न नपर्ने गरी पूर्वादेश माग गरी निवेदन दिएपछि कर्मचारीतन्त्र कर तिर्नपर्छ र तिर्नपर्दैन भन्ने गरी दुई पक्षमा विभाजित भएको थियो । महानिर्देशक शर्माले संसदीय समितिहरूमै कर तिर्न नपर्ने बताएका थिए ।
 
लाभकर बिक्रीकर्ताले तिर्नुपर्ने र खरिदकर्ता कम्पनीले कर तिर्नुनपर्ने व्यवस्था भए पनि एक्सिएटाले पूर्वादेश मागेपछि एनसेल खरिदबिक्रीमा कर नतिर्ने नियत देखिएको थियो ।
 
एनसेलको कर प्रकरणमा ठूलै बहस भए पनि मौन रहेका अर्थमन्त्री विष्णु पौडेलले मंगलबार कर तिराउन आदेश जारी गरेका थिए । उनले आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा र ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक पौडेललाई फोनमार्फत निर्देशन दिएका थिए ।
 
दिउँसो मन्त्रालयमा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले कर तिराएर छाड्ने बताएका थिए । मंगलबार अर्थमन्त्री पौडेलले नियमअनुसार लाग्ने एनसेल खरिदबिक्रीको करमा कुनै सम्झौता नहुने बताएका थिए ।
 
गत डिसेम्बरमा टेलियासोनेराले एनसेलमा भएको स्वामित्व मलेसियाको एक्सिएटालाई बिक्री गर्ने घोषणा गरेको थियो । घोषणासँगै एनसेलको स्थानीय लगानीकर्ता पनि निरजगोविन्द श्रेष्ठबाट भावना श्रेष्ठको सुनिभेरा क्यापिटलले लिने घोषणा गरिएको थियो । एक खर्ब ४० अर्ब रुपैयाँमा एनसेल खरिदबिक्री हुने घोषणा टेलियासोनेरा र एक्सिएटाले गरे पनि त्यसमा लाग्नुपर्ने कर नतिर्नका लागि विभिन्न चलखेल भएको थियो ।
 
गत सोमबार २० प्रतिशत सेयर खरिदबिक्रीमा दुई अर्ब ८३ करोड कर दाखिला गरेपछि टेलियासोनेराले खरिदबिक्री प्रक्रिया पूरा भएको घोषणा गरेको थियो । मंगलबार एनसेलले एक्जिएटा एनसेलमा औपचारिक रूपमा भित्रिएको जानकारी गराउँदै नयाँ प्याकेज घोषणा गरेको थियो ।
 
पूर्वमुख्यसचिव लीलामणि पौडेलले एनसेल खरिदबिक्रीमा कर लगाउनुपर्ने विषयमा कर अधिकृत र सरोकारवाला चुकेको बताउँछन् । एनसेल खरिद बिक्रीका विषयमा कर लगाउने अभियानमा समेत क्रियाशील पौडेल कर नतिरे ‘नो ट्याक्स नो एनसेल' अभियान सुरु गर्ने बताउँछन् ।
 
‘अहिलेकै कानुनले खरिदबिक्रीमा कर लगाउन सक्ने आधार देखिन्छ । कानुनी आधार नभएको भए पनि कानुन संशोधन गरेर पनि कर लगाउनका लागि सरकार अगाडि बढ्नुपर्ने थियो', उनले भने ।

सुजित महत र आशीष ज्ञवालीले अन्नपूर्णपोष्टमा लेख्नुभएको यो समाचार साभार गरिएको हो ।