सहुलियत कर्जा प्रवाहको लागी त्रिपक्षीय सम्झौता

Posted on: March 09, 2021 | views: 1020

काहुले । नेपाल राष्ट्र बैंक मार्फत जारी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन नुवाकोटको छैटौ स्थानीयतहको रुपमा किस्पाङ गाउँपालिका सहित सानिमा बैंक काहुले शाखा र नुवाकोट उद्योग वाणिज्य संघबीच हिजो त्रिपक्षीय सम्झौता भएको छ । 

‘ब्याज अनुदान सम्वन्धि एकिकृत कार्यविधि २०७५’ बमोजिम किस्पाङ गाउँपालिका भित्रबाट उद्यमी एंव ब्यावसायीको लागि उद्यमशील कर्जाको सेवा प्रवाहको लागी सम्बद्ध तीन पक्षबीच सम्झौता भएको हो । किस्पाङ गाउँपालिकाको सिफारिसमा कर्जा लगानी गर्ने तथा बैंकले लगानी गरेका उद्यमीलाई किस्पाङ गाउँपालिका तथा नुवाकोट उद्योग वाणिज्य संघले प्राविधिक सहयोग गर्ने सम्झौतापत्रमा भनिएको छ । सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष छत्रबहादुर लामा, नुवाकोट उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष ताराबहादुर कार्की र बैंकको तर्फबाट सानिमा बैंकको किस्पाङ शाखाको तर्फबाट शाखा प्रमुख प्रकाश रिमालले हस्ताक्षर गर्नुभएको छ । 



किस्पाङ गाउँपालिकाको कार्यालय काहुलेमा आयोजित सम्झौता कार्यक्रममा किस्पाङ  गाउँपालिकाको अध्यक्ष छात्रबहादुर लामाले गाउँपालिकाको आर्थिक तथा नीजि क्षेत्रको विकासका लागि पालिकाको नीति तथा कार्यक्रममा समेत प्राथमिकता दिएका कारण सहुलियतपूर्ण कर्जा लगानीको लागी सझेदारी गरेर अघि बढ्ने अवसर सम्झौताले सहज बनाएको बताउनुभएको छ । 


किस्पाङ गाउँपालिकाको पहिलो प्रथामिकता नै कृषि र पशुपालनको क्षेत्रलाई अघि बढाउन यसअघि देखि नै नीति र कार्यक्रम सहितको बजेट समेत छुट्टाउदै आएकाले आगामी दिनमा त्यसतर्फ थप लगानी बढाउन प्रोत्साहन र किसानलाई सहुलियत ब्याजदरमा ऋण पाउन सहज हुने विश्वास गरिएको अध्यक्ष छत्रबहादुर लामाले बताउनुभएको छ ।   

सम्झौता कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले सम्झौताको अक्षरशः कार्यान्वयनमा जोड दिंदै व्यवसायीले निरन्तर रुपमा कर्जाको ब्याज तिर्न सक्षम बनाउन तीनै पक्ष केन्द्रित हुनुपर्ने सुझाब दिनुभएको छ । 


कर्जा प्राप्तीको लागी आवश्यक पर्ने कागजात तयार बनाउन आवश्यकताको आधारमा संघले गाउँपालिकामा ‘सहायता कक्ष’ समेत स्थापना गरेर उद्यमीलाई आर्थिक रुपमा सम्मुन्नत र कमाईको रुपमा मनग्य बनाउन सहयोग गर्ने प्रतिबद्धता संघका अध्यक्ष ताराबहादुर कार्कीले जाउनुभएको छ । 

किसानको लागी आवश्यक काजजात बनाउन संघले सहयोग पुराउने तर, किसानले पनि इमान्दार भई ऋण बापतको किस्ता रकम भने तोकिएको समयमा तिर्न सक्ने हुने गरेर आर्थिक उपार्जन तर्फ लाग्नुपर्ने सुझाब अध्यक्ष ताराबहादुर कार्कीले दिनुभएको छ ।  

सम्झौता कार्यक्रममा सानिमा बैंकको तर्फबाट किस्पाङका शाखा प्रमुख प्रकाश रिमालले किस्पाङ गाउँपालिकामा कृषि र जडिबुटीको प्रयाप्त सम्भावना भएकाले त्यस्तो खेती प्रबद्धनमा आबद्धलाई प्रथामिकता दिइएको बताउनुभएको छ । 


सहुलियत कर्जाबाट प्राप्त ऋणको सदुपयोगका लागि सानिा बैक सहित गाउँपालिका, उद्योग वाणिज्य संघका साथै सरोकारवाला लगायतको सयुक्त पहलबाटै उद्देष्य पूरागर्न सकिने लक्ष्यको साथ सानिमा बैंकले यसअघि देखि नै उपलब्ध गराउदै आएको कर्जालाई आगामी दिनमा थप बृद्धि गर्दै लैजान सकिने शाखा प्रमुख प्रकाश रिमालले जानकारी दिनुभएको छ । 


सहुलियत ऋण प्राप्त गर्न ब्यावसाय दर्ता गरी स्थायी लेखा नम्बर प्राप्त गरेका उद्योगी–व्यवसायी हुनुपर्ने भनिएको छ । भूकम्प पीडितहरुको नीजी आवास निर्माण कर्जा तीन लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा पाँच लाख रुपैयाँसम्म, युवा वर्ग स्वरोजगार कर्जा पाँच लाख रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रुपैयाँसम्म पाइने भएको छ ।

यस्तै, विदेशबाट फर्किएका युवा स्वरोजगार कर्जा दश लाख रुपैयाँसम्म, दलित समुदाय ब्यावसाय विकास कर्जा दश लाख रुपैयाँसम्म, महिला उद्यमशील कर्जा पन्ध्र लाख रुपैयाँसम्म र ब्यावसायिक कृषि तथा पशुपंक्षि कर्जा पाँच करोड रुपैयाँसम्म पाइने कार्यविधिमा उल्लेख गरिएको छ । 

यसबीचमा महिला उद्यमशील कर्जाको ६ प्रतिशत र अन्य बाँर्की शीर्षकका कर्जाको ब्याजदरको ५ प्रतिशत ब्याजशुल्क नेपाल सरकारले तिरिदिने ब्यवस्था रहेको छ । अहिले नेपालका वाणिज्य बैंकहरुको ब्याजदर ८ देखि १० प्रतिशतको हाराहारीमा भएकाले सहुलियतपूर्ण कर्जा लिएका उद्यमीले ३ देखि ४ प्रतिशत मात्रै ब्याजदर तिरे हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । 

उद्योग बाणिज्य संघ मार्फत सञ्चालनमा रहेको ‘पूर्णिमा’ कार्यक्रम मार्फत संघले नुवाकोटको सबै स्थानीयतहमा सहुलियत कर्जाको लागी स्थानीयतह र बैंकलाई सहभागी गराई त्रिपक्षीय सम्झौता गराउने क्रममा छैठौ पालिकाको रुपमा हिजो किस्पाङ गाउँपालिकामा कार्यक्रम गरेको हो । उद्योग बाण्ज्यि संघको पहलमा यसअघि विदुर र बेलकोटगढी नगरपालिका तथा तादी, दुप्चेश्वर, शिवपुर गाउँपालिकाले ‘सहुलियत ऋण’को लागी बैंकसंग सम्झौता भएको थियो ।

‘सहुलियत कर्जा’ सु्विधा २०७५ देखि नै कार्यान्वयन सुरु भएपनि पहुँचवालाले मात्र पाउने गरेको गुनासो आउने गरेको थियो । त्यसैकोकारण नुवाकोट उद्योग बाणिज्य संघको पहलमा उद्यमी बन्न चाहनेलाई समावेश गर्न स्थानीयतह मार्फत बैंकसंग गरिएको सम्झौताले कर्जा प्रवाहमा सबैको पहुँच सुनिश्चित हुने विश्वास लिइएको छ ।