मौसम प्रतिकुलको कारण किसानले आलु खन्न पाएनन्

Posted on: January 18, 2020 | views: 3158

विदुर । नुवाकोटको पञ्चकन्या र लिखु गाउँपालिकाको किसानले फलाएको आलु खन्न सुरु गरेसँगै लगातार हिउदे पानी पर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । 

पश्चिमी वायुको असरले नुवाकोट, रसुवा, धादिङ, काठमाडौ सहित देशका विभिन्न ठाउँमा बिहीबार बिहानदेखि अहिलेसम्म पनि बर्षा र हिमपात हुँदा खेतबारीमा फलाएको आलु खन्न ठिक्क परेका किसानहरु प्रभाबित बनेका हुन् । धान भित्र्याए लगत्तै रोपेको आलुको उत्पादन पनि सुरु भई खन्ने समयमा लगातार हिउदे बर्षा हुँदा बेचबिखन गर्ने समयमा आलु कुहिन्छ कि भन्ने चिन्ता अहिले कृषकहरुमा रहेको छ । 

नुवाकोटमा आलु उत्पादनको पकेट क्षेत्रनै मानिने नुवाकोटको बेलकोटगढी नगरपालिका सहित पञ्चकन्या, लिखु, सूर्यगढी गाउँपालिका लगायतका किसानहरुले आलुलाई चिसोबाट जोगाउन नै समस्या परिरहेको बताएका छन् । आलु खन्ने सिजनमा जमिनमाथिको आलुको बोट सुकिसक्ने हुदा आकाशबाट आएको पानी सिधै जमिनले सोस्ने र चिसो कायम भईरहनाले आलु कुहिने सम्भाबना धेरै हुने गरेको कृषकहरुले द्ुखेसो गरेका छन् ।  

एकसाता अघिमात्र खेतबारीमा उत्पादित आलु उत्साहका साथ धमाधम खनिरहेका किसानहरुमा अहिले पानी परेसँगै निराशा छाएको छ । आलु फलाएको सुरुवाती समयमा अहिले एक किलोको ४० रुपैयाँमा खेतबारीबाटै आलु बिक्री गर्दै आएका किसानहरुले लगातार परेको बर्षाका कारण खेतबारी धेरै गलिसकेकोले अब ३÷४ दिन चर्को घाम नलागी आलु खन्न नसकिने बताएका छन् । आलु खन्ने मुख्य सिजन सुरु हुन लागेकाले त्यस समयमा एक किलो आलुको मूल्यमा अहिलेको भन्दा झण्डै आधाको हाराहारीमा गिरावट आउने भन्दै किसानहरुले चिन्ता ब्यक्त गरेका छन् । यसैगरी लगातार परेको पानीका कारण आलु किसान चिन्तित बनेपनि गहुँ, तोरी, लगायत अन्नबाली लगाएका कृषकहरु भने उत्साहित देखिएका छन् । पानी परेसँगै गहुँ, तोरी लगायतका अन्नबालीमा गुणस्तरीय फल लागी उत्पादन राम्रो हुने भएपछि किसानहरु खुसी भएका हुन् । लगातारको हिउदेझरीले चैते धान लगाउन धानको ब्याड राख्नको लागी राहत महशुस गरिएको छ । 

बर्खे र हिउदको दुई सिजनमा किसानले करीब ७५ हजार मेट्रिक टन आलु उत्पादन गराएर बिक्रीको लागी बजार पठाउने गरेका छन् । नुवाकोटमा दुई सिजनमा गरी ब्यवसायिक रुपमा चार हजार तीन सय हेक्टर क्षेत्रफलमा आलु लगाउने गरिएको छ । एक हेक्टरमा करीब साढे १७  मेट्रिक टन उत्पादन हुदाँ ७५ हजार मेट्रिक टन आलु उत्पादन गरी किसानले बिक्री गरेको कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ ।