तिहारपछि चेक नकाटी कारोबार गर्न सकिने

Posted on: October 12, 2019 | views: 1097

काठमाडौ । राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) तिहारपछि मात्र सञ्चालनमा ल्याउने भएको छ ।
चेक नकाटी ठूलो रकम स्थानान्तरण गर्न सकिने, कारोबार हुनासाथ अर्को खातामा पैसा जम्मा हुनेलगायत विभिन्न सुविधा सहितको आरटीजीएस प्रणाली भदौ २९ मा औपचारिक रूपमा सुरु भएको थियो । पर्याप्त गृहकार्य नगरी सञ्चालनमा ल्याउँदा समस्या आएपछि बन्द गरिएको थियो । अब सबै गृहकार्यपछि मात्र सञ्चालनमा ल्याउने तयारी भएको राष्ट्र बैंकले जनाएको छ । ‘नोभेम्बर १ (कात्तिक १५) देखि सञ्चालनमा ल्याउने तयारी गरेका छौं,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने, ‘अहिले आरटीजीएसमार्फत कारोबार परीक्षण गर्ने काम भइरहेको छ ।’

यसअघि अनौपचारिक रूपमा राष्ट्र बैंकले भदौ २६ देखि आरटीजीएस प्रणालीमार्फत कारोबार सुरु गरेको थियो । औपचारिक रूपमा उद्घाटन भएको २ दिनमै आरटीजीएसले काम गर्न सकेन र राष्ट्र बैंकले त्यसलाई बन्द गरेको थियो । आरटीजीएस प्रणाली तयार भए पनि राष्ट्र बैंक र वाणिज्य बैंकहरूको प्रणालीमा पूर्ण रूपमा एकीकृत भइनसकेकाले केही समयका लागि स्थगित गर्नु परेको राष्ट्र बैंकले बताएको थियो ।

आरटीजीएस आधुनिक भुक्तानी प्रणाली हो । यो प्रणालीमार्फत कारोबार गर्दा नागरिकले तत्काल रकम भुक्तानी सुविधा पाउनेछन् । हाल चेकमार्फत रकम भुक्तानी गर्दा क्लियरिङ प्रक्रियामा जानुपर्ने भएकाले सामान्य अवस्थामा एकदेखि दुई दिनमा मात्र राफसाफ हुँदै आएको छ । आरटीजीएस कार्यान्वयनमा आएपछि त्यो अवस्थाबाट छुटकारा पाइने छ । चेक नकाटेरै पनि रकम भुक्तानी गर्न सकिनेछ । आरटीजीएसमार्फत कारोबार गर्दा ग्राहकले आफ्नो खाता रहेको बैंकमा गएर एउटा फाराम भर्नुपर्नेछ । सोही फारामको आधारमा आफूले भुक्तानी गर्न चाहेको व्यक्तिको खातामा उतिबेलै रकम स्थानान्तरण हुनेछ । खासगरी ठूला कारोबारका लागि यो आरटीजीएस उपयुक्त हुने जानकारहरू बताउँछन् ।

सुरुमा राष्ट्र बैंकले २ लाखभन्दा बढी र २० लाख रुपैयाँभन्दा कम रकम भुक्तानी गर्दा आरटीजीएस वा चेक काटेर दुवै माध्यमबाट गर्न पाइने व्यवस्था गरेको थियो । २० लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्दा भने अनिवार्य रूपमा आरटीजीएसमार्फत गर्नुपर्ने बताएको थियो । सुरुको अवस्था भएकाले अर्को सूचना जारी नभएसम्मका लागि ग्राहकको इच्छाअनुसार २० लाखभन्दा बढी रकम पनि आरटीजीएस वा चेकमार्फत कारोबार गर्न सुविधा दिइएको छ । यो प्रणाली संस्थागत भएपछि अर्को सूचना जारी गरी २० लाखभन्दा बढीको भुक्तानी अनिवार्य रूपमा आरटीजीएसमार्फत गरिने राष्ट्र बैंकको योजना थियो ।

यो प्रणाली लागू भए पनि तत्काल ग्राहकको खातामा पैसा आउने भएकाले बजारमा तरलताको गति बढ्ने जानकारहरू बताउँछन् । राष्ट्र बैंकले पहिलो चरणमा वाणिज्य बैंकमार्फत आरटीजीएस लागू गरेको थियो । वाणिज्य बैंकहरू आरटीजीएसका मुख्य (प्रिन्सिपल) सदस्य हुन् । विकास बैंक र फाइनान्स कम्पनी एसोसिएट सदस्य छन् ।

आउँदो पुसदेखि विकास बैंक र वित्त कम्पनीमा पनि आरटीजीएस प्रणाली लागू गरिने राष्ट्र बैंकले जनाएको छ । त्यसपछि सदस्य बैंक तथा वित्तीय संस्थाको खातामा तत्काल रकम जम्मा गर्न मिल्ने सुविधा ग्राहकले पाउनेछन् । यो प्रणालीमार्फत कारोबार गर्दा ग्राहकले करिब ३० मिनेटमा (२ देखि २० मिनेटमा) राफसाफ भइसक्ने र ग्राहकले बिहान साढे १० बजेदेखि साढे ३ बजेसम्म मात्र यो प्रणालीमार्फत कारोबार पाउने बताइएको थियो । आरटीजीएस प्रणाली प्रणालीमार्फत कारोबार गर्दा ग्राहकले शुल्क भने तिर्नुपर्छ । यस्तो शुल्क बैंक अनुसार फरकफरक हुन सक्छ । यो खबर कान्तिपुर अनलाइनमा रहेको छ।