आउनथाल्यो रसुवागढी नाका हुँदै भेडा–च्यांग्रा

Posted on: September 26, 2019 | views: 578

टिमुरे । नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीबाट भेडा–च्यांग्रा आयात सुरु भएको छ । नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै बुधबारदेखि रसुवागढी नाका हुँदै भेडा–च्यांग्रा आयात सुरु भएको हो ।

चीनको स्वशासित क्षेत्र तिब्बतबाट ल्याइएको करिब २ सय ३० वटा भेडा–च्यांग्रा रसुवागढी नाका हुँदै नेपाल भित्र्याइएको व्यापारी दिवाकर न्यौपानेले बताए । उनले भने ‘विगतका वर्षमा मुस्ताङबाट भेडा–च्यांग्रा ल्याइने गरेकोमा गत वर्षदेखि यो नाका हुँदै ल्याएका छौँ, र यो वर्ष पनि दसैँ सुरु हुन लागेको हुदाँ भेडा–च्यांग्रा ल्याइसकेका छौँ ।’

 गत वर्षको तुलनामा यो वर्ष भेडा–च्यांग्राको आयात बढ्ने व्यापारीले बताएका छन् ।  गत वर्ष यो नाका हुँदै ४ सय ७० वटा भेडा–च्यांग्रा नेपाल भित्रिएका थिए । गत वर्षको तुलनामा यो वर्ष प्रतिभेडा–च्यांग्रा २ हजारदेखि २ हजार ५ सयको हाराहारीमा मूल्य बढेकोे बताइएको छ । भन्सार गर्दा भेडा–च्यांग्राको मूल्य २३ हजारदेखि २६ हजारसम्म पर्नेसमेत न्यौपानेले बताए ।

रसुवाकैै व्यापारी स्वयंले भेडा–च्यांग्रा ल्याउँदै गरेकाले गत वर्षभन्दा यस वर्ष भेडा–च्यांग्रा निकै आयात हुने उनको भनाइ छ । व्यापारीका अनुसार सवारीको चाप बढी हुँदा भेडा–च्यांग्रा ल्याउन भने निकै कठिन रहेको छ । दसैँलाई लक्षित गरी चीनको तिब्बतबाट रसुवागढी हुँदै आयात गरिने भेडा–च्यांग्राको संख्यामा तीन वर्षदेखि निरन्तर ओरालो लागेको छ ।

चीनको तिब्बतस्थित ल्हासामा भेडा–च्यांग्राको भाउ निरन्तर बढ्दै जान थालेपछि आयात निरन्तर ओरालो लागेको व्यावसायीरूले बताएका छन् । ०७० मा २ सय २ वटा, ०७१ मा १ सय ८०, ०७३ मा २ सय ५० वटा र ०७४ र ०७५ मा ५५-५५ वटा भेडा–च्यांग्रा रसुवागढी नाका हुँदै नेपाल आयात भएको थियो ।

०७० अघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडा–च्यांग्रा आयात हुने गरेको व्यापारीहरूले बताएका छन् । चाडपर्वको समयमा हरेक वर्ष रसुवागढी नाकाबाट भेडा–च्यांग्रा आयात हुने गरेको छ ।