नुवाकोटमा अर्गानिक पदमार्ग सञ्चालनको तयारी अन्तिम चरणमा

Posted on: August 18, 2019 | views: 429

विदुर ।  नुवाकोटमा अर्गानिक पदमार्ग निर्माण प्रक्रिया अघि बढेको छ । शिवपुरी, ककनी, दुप्चेश्वर गाउँपालिकामा प्रांगारिक कृषि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पदमार्ग थालिएको हो ।
पदमार्गको नाम ‘ककनी–सूर्यचौर–चिसापानी–कुटुमसाङ अर्गानिक पदमार्ग’ प्रस्ताव गरिएको छ । उक्त पदमार्ग निर्माण र प्रांगारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि यस चालु आवमा कृषि मन्त्रालयबाट ५ करोड रुपैयाँ बजेट छुट्याइएको छ । पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको छ ।

पदमार्ग निर्माण योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न शुक्रबार काठमाडौंमा सुझाव संकलन तथा सरोकारवालासँग अन्तर्क्रिया गरियो । नुवाकोटका प्रतिनिधिसभा सांसद हितबहादुर तामाङले विगतमा करोडौं खर्चेर बनाएका केही पदमार्ग अलपत्र परेको उल्लेख गर्दै पुरानै तरिका र योजनाले मात्रै पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताए । पदमार्ग निर्माणसँगसँगै स्थानीय विशेषता र प्रांगरिक उत्पादनमार्फत कृषि पर्यटनलाई बढावा दिनुपर्ने उनको भनाइ थियो ।

प्रदेश ३ की उपसभामुख राधिका तामाङले आफू कृषि राज्यमन्त्री हुँदादेखिको सोचलाई कार्यान्वयनतर्फ अघि बढाउन लागिएको बताइन् । उनले चालु आवको बजेट निर्माणको अन्तिम समयमा संघ सरकारको अर्थ र कृषि मन्त्रालयमा पहल गरी प्रदेशमार्फत ससर्त बजेट विनियोजन गरिएको उल्लेख गरिन् ।

प्रदेश सांसद बद्री मैनालीले ककनीमा पर्यटन विकास हुन नसक्नुमा गुठी जग्गा भएको उल्लेख गर्दै ककनी–कुटुमसाङ पदमार्गको विषयमा शिवपुरी राष्ट्रिय निकुञ्जसँग स्पष्ट कुराकानी हुनुपर्ने सुझाव दिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि र सरोकारवालाले डीपीआर अपूर्ण रहेको भन्दै सच्याउन सुझाव दिएका थिए ।

शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले स्थानीय सरकार, सरोकारवालासँग समन्वय र छलफल गरी डीपीआर सच्याउन आग्रह गरे । तीनै तहका सरकारबीच समन्वय भए मात्र यो योजना पूरा हुने उनको भनाइ थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीले तीनै तहको सरकारको समन्वयमा उच्चस्तरीय प्राविधिक समितिमार्फत् अध्ययन र कार्यविधि बनाइ कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।

उनले यो पदमार्ग दूरगामी महत्वको रहेकाले केन्द्र सरकार समन्वय र सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा प्रांगारिक कृषि विज्ञ गोविन्द शर्मा, गाउ पर्यटन प्रवर्द्धन मञ्चका निवर्तमान अध्यक्ष कमल सापकोटाले र कृषिविद् शरदचन्द्र श्रेष्ठले कार्य पत्र प्रस्तुत गरेका थिए ।

नुवाकोटका ककनी–सूर्यचौर–चिसापानी–कुटुमसाङलाई प्राथमिकता दिए पनि यसले काठमाडौं र सिन्धुपाल्चोकलाई समेत जोड्न सहभागीले सुझाव दिएका छन । ककनीका २ र ५, शिवपुरीका ७ वडा र दुप्चेश्वरका २ र ४ वडा समेट्ने प्रस्ताव छ ।