लालबाबु पण्डितको अर्को एक्सन-भारतमा काम नलाग्ने गाडि नेपाल भित्रिएपछि प्रतिबन्ध तयारी

Posted on: March 01, 2018 | views: 320

काठमाडौं ।

भारतमा काम नलाग्ने भएका इन्जिन सहितका गाडि नेपाल भित्रन थालेपछि सरकारले युरो ३ मापदण्डका सवारीसाधन आयातमा प्रतिवन्ध लगाउने तयारी गरेको छ । सरकारले अब युरो–४ मापदण्डका मात्रै गाडी आयात र दर्ता गर्ने तयारी तिब्र बनाएको छ ।


विकसित मुलुकहरुले युरो–६ मापदण्ड लागू गरिसकेका बेलामा नेपालले भने अहिलेपनि युरो ३ मापदण्डका सवारीसाधन आयातमा छुट दिंदै आएको छ । युरो–४ मापदण्डका सवारी वातावरणीय दृष्टिकोणले राम्रो मानिन्छ ।


नयाँ आयात हुने सवारीमा युरो–४ मापदण्ड लागू गर्ने तयारी थाल्न वातावरण मन्त्री लालबाबु पण्डितले निर्देशन दिएका छन् । त्यसअनुसार मन्त्रालयले विभिन्न सरोकारवाला निकाय र विज्ञसँग छलफल थालेको छ । सरकारले मन्त्रिस्तरीय निर्णय गरेर मापदण्ड तोक्न सक्छ ।


युरो–४ का गाडीले युरो–३ को भन्दा कम विषाक्त ग्यास फाल्छन् । आयल निगमले गत वर्षबाटै युरो–४ मापदण्डको तेल भित्र्याउन थालेको थियो । सवारी साधन भने एक तह मुनिका आयात भइरहँदा त्यस्तो इन्धन प्रयोग गर्नुको औचित्य प्रमाणित हुन सकेको छैन ।


काठमाडौंको वायु प्रदुषणको ५० प्रतिशत कारक सवारीसाधनले फाल्ने धुवाँ भएको अध्ययनहरुले देखाएका छन् । बर्सेनि काठमाडौंको प्रदुषण उच्च दरले वृद्धि हुँदै जाँदा मन्त्री पण्डितले एक वर्षभित्रै यहाँ मास्क लगाएर हिँड्नुपर्ने अवस्था हटाउने घोषणा गरिसकेका छन् ।


आयात भइसकेका सवारीमा प्रदुषण जाँचलाई कडाइ गर्ने र भित्रिने गाडीमा नयाँ प्रदुषण मापदण्ड लगाउने मन्त्री पण्डितको योजना छ । ‘अब पनि पुरानै प्रविधिका गाडी भित्रिरहन दिनुहुँदैन,’ मन्त्री पण्डित भन्छन्, ‘कम धुवाँ फाल्ने, वातावरणलाई कम असर पर्ने मापदण्डका गाडी भित्र्याउनुपर्छ । पुराना प्रविधिका गाडीको आयात रोक्न अब काम हुन्छ ।’


विकसित मुलुकहरु युरो–६ मापदण्डमा प्रवेश गर्दै गर्दा बल्ल युरो–४ मा जानेबारे सरकारी अधिकारीहरु छलफलमा जुटेका छन् ।


नेपाल आउने सवारीको मानुफ्याक्चर नेपाली व्यवसायीको मागका आधारमा हुने भएकाले उत्पादक कम्पनीले युरो–३ कै इन्जिन राखेर निर्माण गर्ने गरेको जानकारी आफूहरुसँग रहेको वातावरण मन्त्रालयका एक अधिकारी बताउँछन् । उनका अनुसार युरो–३ मापदण्डका गाडीको उत्पादन लागत सस्तो पर्छ ।


दक्षिणी छिमेकी भारतमा युरो–४ नभएका सवारीको दर्ता रोकिएको छ । सोही कारण उत्पादन भइसकेका करिब साढे आठ लाख गाडी थन्किएका थिए । अहिले तिनका इन्जिनहरु नेपाल आउने सवारी साधनमा प्रयोग भइरहेको पाइएको छ ।


के हो युरो–४ ?


युरोपेली उत्सर्जन मापदण्डको एउटा तह हो यो । यसले युरोपियन युनियन तथा युरोपेली आर्थिक क्षेत्रका नयाँ सवारी साधनले कतिसम्मको हानिकारक ग्यास उत्सर्जन गर्न पाउँछन् भन्ने निर्धारण गर्छ । यो मापदण्डलाई युरोपबाहेककका महादेशमा पनि स्वीकार गर्दै अपनाउने गरिएको छ ।


यसअन्तर्गत् युरो–१ देखि ६ सम्मका तह तयार भइसकेका छन् । युरो–१ यात्रुवाहक कार र हल्का ट्रकहरूका लागि लागू हुन्छ भने युरो–२ यात्रुवाहक कार र मोटरसाइकलका लागि मात्र ।


भारतमा युरो–४ नभएका सवारीको दर्ता रोकिएको छ । सोही कारण उत्पादन भइसकेका करिब साढे आठ लाख गाडी थन्किएका थिए । अहिले तिनका इन्जिनहरु नेपाल आउने सवारी साधनमा प्रयोग भइरहेको शंका सरकारी अधिकारीमा देखिन्छ


युरो–३ मा मोटरसाइकल लगायत सबै सवारी पर्छन् । यस्तै, युरो–४ पनि सबैमा लागू हुन्छ । युरो–५ र ६ व्यावसायिक तथा यात्रुवाहक हल्का सवारीका लागि लागू हुन्छ ।


कुन तहका सवारीले कति ग्यास उत्सर्जन गर्ने भन्ने पनि सवारीअनुसार फरक हुन्छ । जस्तो– युरो–१ को यात्रुवाहक कारले दुई दशमलव ७२ ग्राम प्रतिकिलोमिटर कार्बनडाइअक्साइड ग्यास उत्सर्जन गर्न पाउँछन् । डिजेलबाट चल्ने सोही वर्गका हल्का व्यावसायिक सवारीले पाँच दशमलव १७ ग्राम प्रतिकिमि कार्बनडाइअक्साइड फाल्न पाउँछन् ।


यो मापनमा कार्बनडाइअक्साइडका अतिरिक्त नाइट्रोजन अक्साइड, टोटल हाइड्रोकार्बन, ननमिथेन हाइड्रोकार्बन, कार्बनमोनो अक्साइड र पार्टिकुलेट म्याटरको पनि मापन गरिन्छ ।


युरो–४ मापदण्ड सन् २००५ देखि लागू भएको हो । यसको यात्रीवाहक कार ९डिजेल०ले प्रतिकिमि शून्य दशमलव ५० ग्राम कार्बनमोनो अक्साइड र शुन्य दशमलव २५ ग्राम नाइट्रोजन अक्साइड उत्सर्जन गर्छ ।


यस्तै, पेट्रोल इन्जिनयुक्त कारले प्रतिकिमि एक ग्राम कार्बनमोनो अक्साइड फाल्छ । यस्ता धेरै विषाक्त ग्यासहरुको उत्सर्जन युरो–४ मापदण्डले कम मात्रामा गर्छ ।


‘अब ढिला भइसक्यो । अरु देश युरो–६ मा जाँदैछन् । हामी युरो–४ लगाउन छलफल गरिरहेका छौं,’ मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘भारत पनि युरो–६ मा जाने तयारीमा छ । त्यसैले हामी पनि अपडेट हुँदै अघि बढ्नुपर्ने अवस्था छ ।’