बैंकिङ पहुँचदेखि टाढा छन्, ग्रामीण जनता

Posted on: January 25, 2018 | views: 1139

भद्रुटार, (नुवाकोट) । वित्तीय क्षेत्रको विकास द्रुत गतिमा भइरहँदा राजधानी छिमेकी जिल्ला नुवाकोटका वासिन्दा बैंकिङ पहुँचभन्दा निकै टाढा छन् ।
काठमाडौंबाट ४५ किलोमिटर उत्तर तथा नुवाकोट जिल्लाको दक्षिण पश्चिमा पर्ने पञ्चकञ्य तथा शिवपुरी गाउँपालिका जनतामा राष्ट्र बैंकको नियमनमा रहेका कुनै पनि बैंक तथा वित्तीय संस्था पुगेका छैनन् ।
तुलनात्मकरुपमा विकास शहरमा ‘बैंकमा ग्राहक आउने होइन, ग्राहकहरुमा बैंक पुग्ने’ योजना सार्वजनिक भइरहँदा यस क्षेत्रका जनताले वित्तीय सेवा लिन नपाएको देखियो ।
पञ्चकन्या गाप–५, शिवपुरी गाँप ५, ६ र ७ का जनताका लागि भनेर नेपाल राष्ट्र बैंकको सहयोगमा तितिक्षा फाउन्डेसन र कुण्डला भूपू विद्यार्थी समाजले कुण्डला उच्च माविमा आयोजना गरेको वित्तीय शिक्षा कार्यक्रममा सहभागी अधिकांशले आफ्नो बैंक खाता नभएको बताएका थिए ।


पञ्चकन्या र शिवपुरी दुवै गापमा कुनै पनि बैंक तथा वित्तीय संस्था छैन । बैंकमा पुग्नका लागि कम्तिमा डेढ घन्टाको बाटो हिड्नुपर्ने र बैंकका खाता खोल्दाको फाइदाका विषयमा जानकारी नभएकाले आफूहरुले बैंकमार्फत कारोबारमा चासो नदिएको उनीहरुको भनाइ छ ।
उक्त वित्तीय शिक्षा कार्यक्रम सहभागी दुर्गा सिटौंलाले बैंकमा धाउन समस्या हुने बताउनुभयो । आफूहरुसँग भएका रकम समुह बनाएर संकलन गर्दै आएको र त्यसमध्येबाट काम चलाउने गरेको उहाँको भनाइ छ ।
यस क्षेत्रमा महिलाले फरक÷फरक समुह बनाएका छन् । समुहका सदस्यबाट दैनिक रकम संकलन गरिन्छ । तर, जम्मा भएको सबै रकम समुहको अगुवाकै साथमा हुन्छ । संकलन भएको रुपैंयाँ साथमै राख्नुपर्ने हुन्छ ।
वित्तीय शिक्षा लिन आएका १५० जनामध्ये अधिकांशको बैंक खाता थिएन । कार्यक्रममा अधिकांश महिला थिए । उक्त कार्यक्रममा परिवेक्षकमा पुगेका राष्ट्र बैंकका उपनिर्देशक सार्थक कार्कीले बैंकमा खाता खोल्न आग्रह गर्नुभयो । उहाँले बैंकका खाता खोल्ने तरिका सिकाए र आफूसँग रहेको नोटको सुरक्षा गर्ने तरिका बताउनुभयो ।


तर, यहाँका जनताई बैंकमा खाता कसरी खोल्ने, ऋण कसरी लिने यस्ता विषयमा जानकारी थिएन । यीनै विषयमा जानकारी गराउँदै डा तिर्थराज लुईंटेलले कसरी बचत गर्ने र कहाँ बचत गर्ने भन्ने विषयमा जानकारी दिए ।
राष्ट्र बैंकको सहयोगमा भएको यो कार्यक्रम नुवाकोट जिल्लाकै पहिलो हो । यस क्षेत्रमा बैंकका जनताले भूकम्पबाट प्रभावित भएकाले सदरमुकाम पुगेर बैंक खाता खोलेका छन् तर प्रयोगमा आउँदैन । त्यस्तै वैदेशिक रोजगारीमा गएकाको रकम बैंकिङ प्रणालीमार्फत आउँछ, घरमै थन्किन्छ । वैदेशिक रोजगारीबाट प्रप्त रकम सरकारी बचतपत्र र वैदेशिक रोजगार बचत पत्रमा लगानी गर्दा सुरक्षित हुने नियमित व्याज पाइने उपनिर्देशक काकीले जानकारी दिनुभयो । वित्तिय शिक्षा भनेको आर्थिक जागरुकता हो । आफूसँग भएको रकमको सदुपयोग गर्ने ज्ञान हो । वित्तीय शिक्षा आर्थिक आर्जन गर्ने, बचत गर्ने, लगानी गर्ने र लगानीबाट नाफा हासिल गर्ने कौशल हो । वत्तीय शिक्षामार्फत देशभरका जनताको आर्थिक अवस्था सुधार गर्न सकिन्छ ।
देशभर वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था, माइक्रो फाइनान्स, सहकारीको संख्या यती धेरै स्थापना भएका छन् । तर बैंकिङ पहुँच ६५ प्रतिशत पुगेको छैन । यत्ती धेरै बिमा कम्पनी छन् तर ९३ प्रतिशत भन्दा बढी नागरिकको बिमा छैन ।
यस्तो अवस्थामा वित्तीय शिक्षा राज्यको उच्च प्राथमिकतामा पर्नुपर्छ भन्नुहुन्छ कुण्डला उच्चमावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर थापा । उहाँले ग्रामीण जनताका आर्थिक स्तर माथि उठाउन यस्ता कार्यक्रमले मद्दत गर्ने बताउनुभयो ।
सरकारले वित्तीय नीतिमार्फत तथा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यो विषय अठाउँदै आएको भएपनि आम तहमा अर्थात् मास लेभलमा पुग्न सकेको छैन । सरकारी निकाय राष्ट्रिय योजना आयोग र राष्ट्र बैंककै अध्ययनमा प्रदेश नं ३ मा सबै भन्दा कम गरिब जनता छन् तर बैंक खाता छैन ।


तितिक्षा फाउन्डेसनका अध्यक्ष तितिक्षा मगरले गाउँका जनताले वित्तीय शिक्षा पाएमा आफूँसँग भएको रकमको सदुपयोग गर्ने बताउनुभयो । भूपू विद्यार्थी सममाजका अध्यक्ष हरि लामिछानेले  जिल्लामा पञ्चकन्या र शिवपुरी भन्दा अझै दूर रहेका गाउँपालिकामा यस्ता कार्यक्रम लैजान सके उपयुक्त हुने सुझाव दिनुभयो ।
वित्तीय शिक्षा भनेको एकतर्फीरुपमा भाषण नभइ व्याबहारिके रकमको सही सदुपयोग गर्नका लागि जान्नुपर्ने हुन्छ । त्यसका लागि बैंक खाता खोल्दा कस्ता सामग्रको आवश्यकता पर्छ, बचतपत्रमा खरिद कसरी गर्ने, कर्जा कसरी लिने भन्ने विषयमा ग्रामीण जनतालाई सिकाउन जरुरी छ ।


आफूसँग भएको पूँजीलाई लगानी गरेको विस्तार गर्ने कार्यका लागि दक्षिणी छिमेकी मुलुक भारतमा जस्तै राष्ट्रिय तथा स्थानीय माध्यममार्फत पनि पनि वित्तीय शिक्षा दिइएमा प्रभावकारी हुने सुझाव समेत आएको थियो । देशको भूबनोटका कारण एफ एम रेडियो वित्तीय शाक्षरताका लागि प्रभावकारी साधन बन्न सक्ने विचार व्यक्त भएका थिए ।
नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार ७५३ स्थानीय तहमध्ये ३३२ मा मात्र बैंक तथा वित्तीय संस्था पुगेका छन् । प्रदेश नं ३ मा ११९ छन् तर बैंक पुगेका मात्र ६३ मात्र छन् ।  सरकारले सबै स्थानीय तहमा बैंक जानुपर्नेमा जोड दिएर अनुमति लिएपनि त्यसो हुन सकेको छैन ।