जाजरकोटमा ५० प्रतिशतले मह उत्पादन घट्दा किसान मर्कामा

Posted on: December 30, 2017 | views: 659
जाजरकोट । विगत बर्षमा ४५ मेट्रीक टन बढी मह उत्पादन हुने जाजरकोटमा यो बर्ष भने आधाले घटेको छ । मह उत्पादन घटेपछि मौरीपालक किसान मर्कामा परेका छन् । त्रिबेणी नलगाड नगरपालिकाको डाडागाउ, लहँ, खगेनकोट र भेरी नगरपालिकाको पिपे, मैदे लगाएत क्षेत्रमा मह उत्पादन घटेको हो । उत्पादन घटे्पछि महको मुल्य पनि आकासिएको छ । गत बर्षको तुलनामा ५० प्रतिशतले मह उत्पादन घटेको त्रिबेणी नलगाड नगरपालिका १, कल्पतका मौरीपालक सेते बुढाले बताउनु भयो । गतबर्ष ७५ घार मौरीबाट ८ सय किलो मह उत्पादन गरेर ५ लाख आम्दानी भएकोमा यो बर्ष ४ सय किलो मात्र उतपादन भएको बुढाले बताउनु भयो । विभिन्न रोग लागेर मौरी मर्ने गरेको कारण यो बर्ष ३५ घार मात्र मौरी भएको उहाँले बताउनु भयो । मौरीमा रोग फैलिएर मह उत्पादन घटेपछि जाजरकोटका ३ सय बढी ब्यबशायिक मौरीपालक किसान मर्कामा परेका छन् । मह उत्पादनमा कमी आउनुको कारण रोगले मौरी मर्नु, किसानलाई प्राविधीक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नु लगाएत भएको बुढाले बताउनु भयो । बन विनास, अतिक्रमण बढ्नु, जलवायु परिवर्तन, चरण क्षेत्रको अभाव, समयमा चिउरी नफुल्नु लगाएत कारण मह उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख श्रीराम घिमिरेले बताउनु भयो । विगतमा प्रति किलोको ५ सय मुल्य पर्ने मह यो बर्ष ७ सय पुगेको छ । महको माग बढी छ, उत्पादन कम छ । मह उत्पादन घट्दा मुल्य बढेको हो ।