‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक एक वर्षमा १० प्रतिशत मात्र

Posted on: December 24, 2017 | views: 218
बिदुर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भैरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम एक वर्षमा १० प्रतिशत मात्र भएको छ । एक्काइस महिनाभित्र पूरा गर्ने सम्झौता भए पनि काम शुरु भएको एक वर्षमा १० प्रतिशतमात्र स्तरोन्नतिको काम भएको हो । पृथ्वी राजमार्गस्थित धादिङको गल्छीदेखि शुरु भएर देवीघाट–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोडिने सडक ८२ किमी लम्बाइको छ । सडक निर्माणअन्तर्गत ठेकेदार कम्पनीमार्फत भइरहेको ४६ किमी सडक ९गल्छी–त्रिशूली–मैलुङ्ग०को काम सम्झौता भएर शुरु भएको एक वर्षमा १० प्रतिशत मात्रको निराशाजनक प्रगतिलाई तीव्र बनाउन पहल गरिएको योजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिनुभयो । दुई लेनको ११ मिटर कालोपत्र हुने सडकको केन्द्रदेखि दायाँबायाँ १५÷१५ मिटर जग्गा अतिक्रमण गरिने आयोजनाले जनाएको छ । नौ अर्ब ५० करोड लगानीमा निर्माण हुन लागेको सडकखण्डमध्ये ठेकेदार टुण्डी कम्पनीले तीन अर्ब ६३ करोड ९१ लाखमा ४६ किमी सडक निर्माण पूरा गर्ने जिम्मेवारी पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा विसं २०७२ मंसिर १७ मा मन्त्रिपरिषद् बैठकले सहायक राजमार्गका रूपमा सडक निर्माण गर्ने निर्णय सहित बजेट व्यवस्था गरेपछि विसं २०७३ पुस १ देखि काम थालिएको थियो ।