नवलपरासीको होङ्सी शिवम् सिमेन्ट उद्योगले उत्पादन थाल्दै

Posted on: December 18, 2017 | views: 170
काठमाडौं । नवलपरासीको सर्दीमा स्थापना हुन लागेको होङ्सी शिवम् सिमेन्ट उद्योगले आगामी फागुनको पहिलो सातादेखि सिमेन्ट उत्पादन गर्ने तयारी गरेको छ । नेपालको शारदा समूह र चीनको होङ्सी समूहको संयुक्त लगानीमा स्थापना हँदै गरेको उद्योगको संरचना निर्माणको लागि हाल नेपाली र चिनियाँ गरी १६ सय कामदार कार्यरत रहेका छन । गत वर्षको पुसबाट शुरु भएको निर्माण कार्य हाल ९० प्रतिशत सम्पन्न भइसकेको छ । नेपालको शारदा समूहको ३० प्रतिशत र चिनको होङ्सी समूहको ७० प्रतिशत लगानी रहेको उक्त कारखाना निर्माणमा कार्यरत कामदारले स्वदेशमा नै रोजगारी मात्रै पाएका छैनन्, सीप पनि सिकेको होङ्सी शिवम् सिमेन्टका नायब महाप्रबन्धक मनोज गोयलले बताउनुभयो । कारखानामा दक्ष कामदार उत्पादनका लागि कम्पनीले ३० जना नेपालीलाई चीनमा तालीमका लागि पठाएको छ । नेपाली र चिनियाँ कामदारको पारिश्रमिक भने फरक छ । कारखानाका लागि आवश्यक पर्ने चुनढुंगा ल्याउने पाल्पाको भुकेटबाट विस्थापित भएका २६ घरपरिवारका लागिसमेत कारखाना नजिकै सामूहिक आवास निर्माणको काम भइरहेको छ । कम्पनीले स्थानीय निर्माण व्यवसायी परिचालन गरेर सामूहिक आवास निर्माण गरिरहेको छ । प्रत्येक घरका लागि २५ लाखसम्म खर्च गर्ने तयारी भएको छ  । कारखाना सञ्चालनमा आएपछि दैनिक एक हजार नेपाली र ४०० भन्दाबढी चिनियाँ कामदारले समेत रोजगारी पाउने कम्पनीका महाप्रबन्धक लाई वि पेङले बताउनु भयो । प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भइरहेको कारखानाले हाल दैनिक छ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्छ । पूर्ण क्षमतामा कारखाना सञ्चालनमा आएपछि दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ ।