मुक्तकमैया सामूहिक रुपमा माछापालन गरेर आम्दानी गर्दै

Posted on: December 15, 2017 | views: 133
भीमदत्तनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–५ का मुक्तकमैया सामूहिक रुपमा माछापालन गरेर आम्दानी गरिरहेका छन् । त्यहाँ करिब आठ हेक्टरमा रहेको प्राकृतिक ताललाई व्यवस्थित गरेर सोभाताल मुक्तकमैया शिविरमा बस्दै आएका ७९ किसानले व्यावासायिक रुपमा माछापालन गर्दैआएका छन् । विभिन्न दातृ निकायले पोखरी स्तरोन्नती गर्न तथा डिल निर्माणलगायत प्राविधिक सहयोग गरेपछि मुक्तकमैयाले विगत केही वर्षयता समूहमार्फत माछापालन गर्न थालेका हुन् । सोभाताल व्यावसायिक माछापालन समितिका कृपाराम चौधरीका अनुसार पोखरीको डिल बनाउन र पानीका लागि मोटर, बोरिङका लागि दातृ निकायको सहयोग पाएपछि मुक्तकमैयाले श्रमदान गरेर तालमा माछापालन गर्न मन लगाएका हुन् ।