चिनसँगको व्यापार बढाउन गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक विस्तार गरिंदै

Posted on: December 15, 2017 | views: 365

बिदुर ।

राष्ट्रिय गौरवको आयोजना अन्र्तगत निर्माण भइरहेको गल्छी–त्रिशूली–मैलुङ रसुवागढी सडक योजनाले बजार क्षेत्रमा चार लेनको सडक विस्तार गर्ने भएको छ । 

चीनसँगको व्यापारलाई सहज बनाउनको लागि सञ्चालनमा ल्याइएको गल्छी– त्रिशूली–मैलुङ–रसुवागढी सडक विस्तारसँगै नुवाकोटको आर्थिक विकासले पनि फड्को मार्ने स्थानीयवासीहरु बताउँछन् ।  सडक योजनाले दिएको जानकारी अनुसार दुई लेनमा निर्माण भइरहेको अन्तराष्ट्रिय मापदण्डको यो सडक योजनामा पर्ने विदुर नगरपालिकाको बट्टारदेखि ढुंगेसम्म चार लेनको सडक निर्माण हुने योजना प्रमुख सुवोधकुमार देवकोटाले बताउनुभयो ।  

नौ अर्व ५० करोड लगानी रहेको योजना अन्र्तगत सडकको दायाँवायाँ पर्खाल लगाउने र सडक विस्तारको काम भइरहेको छ । उत्तर–दक्षिण जोड्ने छोटो नाकाको रुपमा रहेको यो सडक विस्तारलाई अझै प्रभावकारी रुपमा अघि बढाउन पुस १ गतेदेखि फागुन मसान्तसम्म विहान ६ बजेदेखि ९ बजेसम्म र ११ बजेदेखि ५ बजेसम्म पिपलटारदेखि गल्छीसम्म बाटो पूर्णरुपमा बन्द्र हुने आयोजना प्रमुख देवकोटाले बताउनुभयो । 

०७२ साल मंसिर ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्री परिषद्को वैठकले निर्णय गरेअनुसार यो योजना ७ मे २०१६ मा २७ महिनाभित्र काम सम्पन्न गर्ने गरी काम सुरु भएपनि जग्गा अधिग्रहण, विजुलीको पोल र वन क्षेत्रका कारण आयोजना निर्माणमा ढिलाई भइरहेको छ । आयोजनामा देखिएका समस्या समाधानको लागि सरोकारवालाहरुसँग समन्वय भइरहेको योजनाले जनाएको छ । 

सडकमार्ग निर्माणको लागि आवश्यक जग्गा अधिग्रहणको लागि तथ्याङ्क संकलन लिने, लगत संकलन गर्ने काम भइरहेको आयोजना प्रमुख देवकोटाले बताउनुभयो । आयोजना १७ फेब्रुअरी २०१९ मा सकिने लक्ष्य राखिएपनि लक्ष्य अनुसारको काम नहुँदा केही समय लम्विन सक्ने उहाँले बतानउनुभयो ।  

धादिङको गल्छीदेखि चीनको सीमा रसुवागढीसम्म ८२ किलोमिटर लम्बाई रहेको यो सडकमा अहिले ४६ किलोमिटर दूरीमा काम भइरहेको छ । सडकलाई तीन खण्डमा विभाजन गरी काम भइरहेको छ । रसुवाको मैलुङदेखि स्याफ्रुवेशीसम्मको १८ किलोमिटरमा नेपाली सेनाले ट्याक खोल्ने काम गरिरहेको छ भने स्याफुवेशीदेखि रसुवागढीसम्मको १८ किलोमिटर सडक चीन सरकारले बनाउने योजना रहेको छ । योजनाको निर्माण चाइना ठेकेदार एमएस कन्भेग, तुँदी र रसुवा जेभीले निर्माणको काम भइरहेको छ । दुई वर्षको अवधिमा योजनामा १० प्रतिशतमात्र काम सम्पन्न भएको छ ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राष्ट्रिय  गौरवको आयोजना नामाकरण गरी काम भइरहेको योजना अन्र्तगत धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुवेशीसम्म ८२ किलोमिटर सडक स्तरोन्नतीको काम भइरहेको आयोजना प्रमुख सुवोधकुमार देवकोटाले जानकारी दिनुभयो ।