युनाइटेड मोदी हाइड्रोपावरको खुदनाफा ४ गुणा बढ्यो, ईपीएस ३.६४ रुपैयाँ मात्र

Posted on: November 05, 2017 | views: 86
पर्वत । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको नाफा ४ गुणा बढेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले ४ करोड १८ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा युनाइटेडको नाफा १ करोड १० लाख रुपैयाँ मात्र थियो । मोदीखोलामा पानीको बहाव राम्रो भएकाले बिजुली उत्पादन बढेपछि नाफा पनि वृद्धि भएको कम्पनीले जनाएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आवको असोजसम्मको वित्तीय विवरणमा नाफा बढेपनि प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ६४ पैसा मात्र रहेको जानकारी दिएको छ । समीक्षा अवधिमा कम्पनीले ९ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा ७ करोड १७ लाख रुपैयाँ मात्र थियो । कम्पनीले १० मेगावाटको मोदी २ जलविद्युत आयोजना निर्माण थालेको छ । हाल युनाइटेडले १० मेगावाटको तल्लोमोदी आयोजना सञ्चालन गरिरहेको छ ।