बाढी पहिरोबाट १० अर्बको पशुपन्छीमा क्षती, हेटौंडाका उद्योगमा मात्र डेढ अर्ब बढी नोक्सान

Posted on: August 18, 2017 | views: 170

काठमाडौं ।

मुलुकमा आएको बाढी तथा पहिरोका कारण झण्डै १० अर्ब १७ करोड ८८ लाख मूल्य बराबरका पशुपन्छीको क्षति भएको छ । 


पशुपन्छी विकास मन्त्रालयले शुक्रबार सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा साउन २७ देखि २९ गतेसम्मको अविरल वर्षाका कारण विभिन्न क्षेत्र जलमग्न हुन गई कुखुरा, बाख्रा, पाठा गाईभैँसी, बंगुरको ठूलो संख्यामा क्षति भएको मन्त्रालयले जनाएको छ । 


पत्रकार सम्मेलनमा पशुपन्छी विकासमन्त्री सन्तकुमार थारुले आहतमा परेका किसानको हितमा केही समयपछि राहतका कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो । 


मन्त्रालयका सचिव डा युवकध्वज जीसीले दुग्धजन्य पदाथतर्फ चार अर्ब ८० करोड तथा अण्डा, मासु र गोठतर्फ छ अर्ब ९ करोड ८८ लाख क्षति भएको जानकारी दिनुभयो । 

 

मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले बाढीका कारण २ हजार ९७० बोका तथा बाख्रा, ५३ भैंसी, १ सय १९ गाई, १ लाख ३३ हजार ८४५ कुखुरा,  ७ सय ५५ बंगुर तथा ३ हजार ३२ गोठ र खोरमा क्षति पुगेको जानकारी दिनुभयो ।


बाढीका कारण हेटौंडा औद्योगिक क्षेत्रमा १ अर्ब ७७ करोड बढीको क्षति


मकवानपुर ।

हेटौंडा औद्योगिक क्षेत्रमा बाढीका कारण १ अर्ब ७७ करोड भन्दा बढीको क्षति भएको छ । 


उद्योग व्यवस्थापन कार्यालय हेटाँैडा र उद्योग सङ्घ मकवानपुरले संयुक्त रूपमा गरेको निरीक्षणका क्रममा सो परिमाणमा नोक्सानी भएको भेटिएको हो । 


कार्यालयका व्यवस्थापक नेपालभूषण वैद्यले यो न्यूनतम क्षति विवरण मात्र भएको र पूर्ण विवरण आउन बाँकी रहेको बताउनुभयो ।  


बाढीका कारण क्षति पुगेका ८ वटा उद्योगमध्ये ३ वटा अझै सञ्चालनमा आउन सकेका छैनन । औद्योगिक क्षेत्रमा रहेको औद्योगिक प्रतिष्ठानमा भएको क्षतिबारे अध्ययन गर्न उद्योग सङ्घको तर्फबाट ३ जना र हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको तर्फबाट ३ जना गरी छजनाको समिति बनाइएको छ । 


औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका व्यवस्थापक वैद्यले ३ दिनसम्म औद्योगिक क्षेत्र डुबानमा परेका कारण ती उद्योग बन्द गर्नु परेको बताउनुभयो । 


सम्पूर्ण उद्योग बन्द हुँदा दैनिक रु ५० करोड बराबर व्यापार घाटा व्यहोर्नु परेको छ । कतिपय उद्योगको कच्चा पदार्थ र गोदामको क्षति विवरण आउन समय लाग्ने देखिन्छ । 


औद्योगिक क्षेत्रमा रहेको ढलमा रातोमाटो तथा खहरेको बाढी पस्दा खाद्य उद्योगहरुमा रहेको कच्चा पदार्थमा ठूलो मात्रामा क्षति भएको उद्योग सङ्घ मकवानपुरका अध्यक्ष नमराज अर्यालले जानकारी दिनुभयो । हाल हेटौँडा औद्योगिक क्षेत्रमा ८२ वटा उद्योग सञ्चालनमा छन् ।