नेपाली व्यावसायी र चिनियाँ प्रतिनिधिबीच छलफल

Posted on: August 16, 2017 | views: 291

काठमाडौं ।

नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र चीनका उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको चिनियाँ प्रतिनिधि मण्डल र नेपाली उद्योगी व्यवसायीहरुको प्रतिनिधिमण्डल बीच दुुई देशबीचको आपसी व्यापार, लगानी र सहयोगका विभिन्न विषयहरुमा आज काठमाडौंमा छलफल भएको छ ।


त्यस अवसरमा चिनियाँ उपप्रधानमन्त्रीले नेपाली निजी क्षेत्रसँगको भेटवार्ता आफ्ना लागि अत्यन्त महत्वपूर्ण भएको बताउनुभएको र चीन नेपाल बीचको आर्थिक सहकार्य एवम् आर्थिक सम्बन्ध निरन्तर रुपमा अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो  । 


छलफलमा नेपालका उद्योगी व्यवसायीले विशेष गरी नेपालमा लगानी बढाउन र दुई देशबीच सम्बन्ध सञ्जाल विस्तारका लागि चीन सरकारका उपप्रधानमन्त्री वाङ याङसँग आग्रह गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बताउनुभयो । 


छलफलमा उद्योगी व्यवसायीहरुले  नेपालसँगका नाका विस्तार र सुचारु गर्न, चीनले आयातमा दिने छुटको सम्बन्धमा नेपालमा उत्पादन भई निर्यात भइरहेका वस्तु र व्यापारलाई प्राथमिकता दिन आग्रह गरेको पनि अध्यक्ष राणले जानकारी दिनुभयो ।  


भेटमा उद्योगी व्यवसायीले तातोपानी नाका सुचारु गर्नुपर्ने, दुवै देशको पर्यटन प्रवद्र्धन र नेपालको जडीबुटी व्यापारका सम्बन्धमा पनि कुरा राख्नुभएको थियो ।


छलफलमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठलगायतले दुुई देशबीचको आपसी व्यापारका समस्या तथा नेपाल र चीनको बीचमा रहेको व्यापारघाटा लगायतका विषयहरुमा चर्चा गर्नुभएको थियो ।