धुर्मुस सुन्तलीले बाँडे भूकम्प पीडितलाई ब्ल्याङ्केट

Posted on: April 30, 2016 | views: 243

काठमाडौं– हाँस्यकलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सिन्धुपाल्चोकस्थित बराम्ची गाविसका भूकम्प पीडितहरुलाई ब्ल्याङ्केट वितरण गरेका छन्। हाँस्यकलाकार जोडीले आठ सय १६ परिवारलाई ब्ल्याङ्केट वितरण गरेका थिए।

उनीहरुको पहलमा अमेरिकास्थित नेपाली समाज टेक्सस र धुर्मुस सुन्तली फाउण्डेशनले भूकम्प पीडितलाई २० लाखको ब्ल्याङ्केट जुटाएका थिए । 'नेपाल सरकारले सबै जनतालाई राहत वितरण गर्न नसकिरहेको अवस्थामा हामीहरुले विभिन्न सहयोगी व्यक्तिहरुसँग सहयोगको लागि आग्रह गरेका थियौं,' हाँस्यकलाकार धुर्मुसले भने । यसअघि उनीहरुले दोलखामा ७५ परिवारलाई ब्ल्याङ्केट वितरण गरेका थिए । 'टहरामा बसिरहेका भूकम्प प्रभावितहरु समस्यामा भएकाले हामीले न्यानो ब्ल्याङ्केट प्रदान गर्न पहल गरेको हौं,'हाँस्यकलाकार कुञ्जना घिमिरेले भनिन् । स्थानीय पुतली मगरले चिसोका कारण समस्या भइरहेको अवस्थामा हाँस्यकलाकार जोडीले सम्पूर्ण गाँउको लागि न्यानो ब्ल्याङकेट जुटाइ दिएकोमा खुसी व्यक्त गरिन् । 'नेपाल सरकारले चिसोमा भूकम्प प्रभावितलाई वेवास्था गरिरहेपनि कलाकार जोडीले सम्पूर्ण गाँउलेलाई ब्ल्याङ्केट उपलब्ध गराइदिएका छन्,'उनले भनिन् ।