हरिभक्त खोज्दै -पुरु लम्साल

Posted on: May 01, 2016 | views: 529

घरमा हजुरबाले किनेर ल्याउनुभएको पानासोनिकको लाइसेन्सवाला रेडियो थियो। गाउँमा बिजुली आएकै थिएन। ब्याट्रीबाट बजाउनुपर्ने रेडियो बच्चाहरूको पहुँचमा हुने कुरै भएन। मझेरीको मूल थामको माथिल्लो भागमा तीन इन्चको किलो ठोकेर रेडियो झुन्याइएको थियो। दाउरा बाल्दाको धुवाँले कालो हुने डरले रेडियोलाई पनि कमिज लगाइदिनुभएको थियो हजुरबाले ।

कहिलेकाहीँ घरमा कोही नभएको मौका छोपेर थुन्से घोप्ट्याएर रेडियो झिकेर चर्को आवाजमा घन्काउँदाको मज्जा नै अर्कै हुन्थ्यो। रेडियोको ब्याट्रीलाई ब्याट्री भन्न नजानेर बेटरी वा मसला पनि भन्ने गर्दथे गाउँका मान्छेहरू। नयाँ ब्याट्री सकिन लागेपछि घाममा सुकाएर केही समय बजाउने गरिन्थ्यो। आमाले सकिएको ब्याट्री जम्मा पारेर राख्नुहुन्थ्यो। हामी दसैंमा त्यही ब्याट्री फुटाएर भित्रको कालोलाई पिँधेर घरको भित्ता रंग्याउँथ्यौं।

एउटा रेडियो तर घरमा चार किसिमका स्रोता। हजुरबालाई बिहानको धार्मिक कार्यक्रम नसुनि नहुने। काका र बालाई समाचार सुन्नपर्ने। आमोइ, आमा र काकीलाई गीत मन पर्ने तर हजुरबा र बाको अगाडि बोल्न नसक्ने। हामीलाई बाल कार्यक्रम। साँझ पाँच बजेको समाचारपछि आउने बाल कार्यक्रम सुन्न हामी स्वस्थानी सुन्न बसेझैं बस्थ्यौं। एउटा मिठो धुन बजेपछि समूहले 'जय नेपाल' भन्थ्यो रेडियोमा र बाल कार्यक्रम सुरु हुन्थ्यो। बज्न त धेरै बालगीत बजे होलान्् तर एउटा गीत मेरो बाल–मानसपटलमा राम्रैसँग बसेको थियो—

'कहाँ जाने कहाँ जाने पुतलीका हुल

जताजता फुलेका छन् मिठामिठा फूल।'

एक वर्ष केशव दाइको बुई चढेर ढाँडेको स्कुल पढेपछि मेरो मामाघर मदानपुरमा खुलेको बोर्डिङमा छोरा पढाउने बाको चाहनाले केशव दाइको बुई, ढाँडेको स्कुल, कमिज लगाएको पानासोनिक रेडियो र मेरो सम्बन्ध टुट्यो। घर छोडेर आउँदा मसँग हातमा कक्षा एकमा प्रथम भएको प्रमाणपत्र र सिउर बाटेको झन्डै कम्मरसम्म आइपुग्ने कपालमात्रै थियो।

०००


हरिभक्त कि कान्छी छोरी कल्पना सँग

छ कक्षा पढ्न पुनः घर फर्किएँ। अंशबन्डामा आउने सम्पत्ति अलि कम लिएरै भए पनि पानासोनिकको रेडियो बाले आफ्नै भागमा पार्नुभयो। गीतसंगीत र साहित्यमा गहिरो रुचि देखेर बाले हार्माेनियम किनेर लगिदिनुभो। विनागुरुको बेसुरा हार्माेनियम थिचेर आलाप्थेँ म र मन्त्रमुग्ध भएर सुनिदिन्थे जम्मा भएकाहरू। घरमा साहित्यिक पुस्तकहरू छँदै थिएनन्। रामायण, महाभारत, देवीभागवत, सत्यवान््–सावित्रिको कथा र स्वस्थानी पढेपछि म साहित्यमा लाग्न प्रेरित भएँ। नेपालगन्जमा रहनुभएका ठूलोबा नन्दराम लम्साल र हजुरबाको बीचमा चिठीपत्र खूब आदानप्रदान हुन्थ्यो। रामायणको श्लोकको लयमा लेखेको चिठी म भाका हालेर गाउँथँे। हजुरबाको अक्षर अरूले खासै बुझ्दैनथे। हजुरबा लेखेको पढेर सुनाउनुहुन्थ्यो म कापीमा सार्थें। रेडियोमा बजेको गीतहरू कापीमा सारेर म हार्माेनियममा गाउने कोसिस गर्थें। रेडियो नेपालको अनुरोध संगीत कार्यक्रममा उद्घोषकले गायक, संगीतकार तथा रचनाकारको नाम पनि भन्ने गर्दथे। पहिलोपल्ट मैले रचनाकारको रूपमा सुनेको नाम थियो— हरिभक्त कटुवाल।

 


क्यामेरा म्यान जयराम थापा पुरू लम्साल दुर्गा चाम्लिङ राई सुरज गुरुङ

'पोखिएर घामको झुल्का भरि संघारैमा

तिम्रो जिन्दगीको ढोका खोलूँखोलूँ लाग्छ है!'

त्यति बेलासम्म विद्यालयस्तरीय कविता प्रतियोगिताहरूमा म धेरैपटक पुरस्कृत भइसकेको थिएँ। जिल्लास्तरीय प्रतियोगितामा पुरस्कृत भएर केही साहित्यिक पुस्तक पुरस्कार पाएको थिएँ। बाल कार्यक्रममा कविता लेखेर पठाउँथेँ र बजेपछि युद्ध जितेको सिपाइझैं छाती फुलाएर हिँडेको सम्झँदा अहिले लाज लाग्छ। रेडियो नेपालमा मधुवन कार्यक्रम बज्न थालेपछि त हामीजस्तो नवप्रतिभालाई ढुंगा खोज्दा देउता मिलेको अनुभूति भयो। लेखेर पठाएका रचनाहरू प्रायः बज्थ्यो मधुवनमा। उमा सिलवाल, पुरुषोत्तम सिलवाल, पदम आचार्य म सँगसँगै लेख्थ्यौं। मैले गीतकारका रूपमा मात्रै चिनेको हरिभक्त कटुवाललाई कविका रूपमा पहिलोपल्ट चिनाउने व्यक्ति उमा सिलवाल हुनुहुन्छ। खै कुन पत्रिकामा उहाँले हरिभक्त कटुवालको 'रहर' शीर्षकको कविता मलाई सुनाउनुभयो । त्यति बेलैदेखि मलाई हरिभक्तको शब्दले मोहनी लगायो। अहिले सम्झन्छु— सरल शब्दको प्रभाव रहेछ!

०००


हरिभक्त कि जेठी छोरी कबिता क्षेत्री

काठमाडौं छिरेपछि गीतसंगीतमा भन्दा साहित्यमा अलि बढी भुकाव भयो। सायद संगतले पनि हुन सक्छ। मेरा साहित्यिक गुरुमध्येका एक डा. नवराज लम्साल, राजधानी छिर्दा रचनाहरू थुप्रैपटक पढेर पनि भेटघाट नभएका कवि प्रोल्लास सिन्धुलीय (जसको हायूनी बुढी कविता मलाई कविसँग नभेट्दै कण्ठ थियो), गजलमाली ज्ञानुवाकर पौडेल, बाबु त्रिपाठी, राबतलगायत थुप्रै लेखक साहित्यकारसँगको संगतले मलाई सधैं उत्प्रेरणामात्रै जगाएन वर्षौंदेखिको हरिभक्त कटुवाललाई खोज्ने र भेट्ने अभिलाषा अझै बढाइरहेको थियो।

जहाँ जसलाई भेटे पनि म हरिभक्त कटुवालका बारेमा सोधीखोजी गर्दथेँ। युवापुस्तामा कमैले मात्र हरिभक्त कटुवाललाई पढेको मैले महसुस गरेँ। उनका बारेमा लेखिएका प्रायः सबै लेखहरूमा हरिभक्तको नितान्त व्यक्तिगत कुराबाहेक उनका रचना र नेपाली साहित्यमा उनको योगदानको बारेमा कसैले दुई शब्द खर्चिएको भेटिनँ। हरिभक्तका केही थान कविता र गीत कण्ठस्थ पारेर काठमाडौं खाल्डोमा स्थापित हुन संघर्ष गरिरहेको बेला मैले भेटेँ— साहित्यकार भवानी घिमिरेले सम्पादन गर्नुभएको भानु पत्रिकाको हरिभक्त कटुवाल विशेषांक, जहाँ हरिभक्तबारे लेख्ने अधिकांश नेपाली लेखकले रक्सीका र आफूसँगको व्यक्तिगत सम्बन्धका किस्साभन्दा माथि उठेर लेख्न सक्नुभएको पाइनँ। अझ आसामबाटै नेपाल आएर स्थापित भएका एक स्रष्टाले त हरिभक्तको मृत्युपछि रक्सीकै प्रसंग जोडेर तल्लो स्तरको लेख लेख्नुभएको भेटेँ। भानु पत्रिकामा छपिएका केही लेख पढेको रात म निदाउन सकिनँ। मैले आदर्श मानेको एउटा कवि जो म जन्मनुभन्दा दुई वर्षपहिल्यै बितिसकेका थिए र जसको एउटै कविताबाट प्रभावित भएको थिएँ, उनैका बारेमा उनका समकालीन र समकालीन हुँ भनेर देखाउन खोज्नेहरूले गरेको विषबमन देख्दा नेपाली साहित्यमा भविष्य खोज्ने मेरो सपनामा नराम्ररी तुषारापात भयो।

धेरै रात म राम्ररी निदाउन सकिनँ र मनमनै अठोट गरेँ— म हरिभक्तको खोजी गर्छु।


हरिभक्त जन्मिएको ठाउँ

किनकि मैले पढेका हरिभक्तका कविताहरूमा कहीँ–कतै रक्सीको गन्ध भेटेको थिइनँ, कहीँकतै उनको व्यक्तिगत आचरणको खराब पाटाहरू देखेको थिइनँ। सोचेँ— भानुभक्तका रचना खोजेर भानुभक्त भनेर मोतीरामले चिनाए र आजसम्म भानुभक्त तिनै रचनाले बाँचेका छन्। मैले न महाकवि लक्ष्मीप्रसाद देवकोटा भेटेको हुँ न नाट्यसम्राट बालकृष्ण समलाई देखेको हुँ। पहलमानसिंह स्वाँर, गोपालप्रसाद रिमाल, भीमनिधि तिवारी, पारिजात, शंकर कोइराला, भूपि शेरचन, सिद्धिचरण श्रेष्ठ सबैलाई मैले पढेको हुँ र मेरोअगाडि सबै आफ्ना रचनाले बाँचेका हुन् भने हरिभक्त किन बाँच्न सक्दैनन्?

०००

हरिभक्तको बारेमा केही गर्ने अठोट बोकेर लगभग चार वर्ष म भौंतारिएँ। सम्पर्क भएका प्रायः सबैलाई आफ्नो योजना सुनाएँ। कतिले सहयोगको आश्वासन दिए, केहीले 'किन हरिभक्तको गर्नु? ऊ त विदेशी हो। कुनै नेपाली कविको बारेमा गर्नूस्' भन्ने सल्लाह पनि दिए। तर मेरो मनलाई कसैको केही कुराले बिथोल्न सकेन र सुरु गरेँ हरिभक्त कटुवालको जिवनीमा आधारित डकुमेन्ट्री 'अनि हरिभक्त फर्किएनन्' को निर्माण।

असम नजिकै पक्कै थिएन। डकुमेन्ट्रीमा समेट्नु्पर्ने व्यक्तिहरूको मोटामोटी लिस्ट तयार पारेँ। भारत गएर डकुमेन्ट्री खिच्न एउटा नेपालीको लागि त्यति सहज थिएन। पहिले नेपालमा खिच्नुपर्ने दृश्यहरू खिच्ने र हरिभक्तसँग संगत गरेका नजिकका केही व्यक्तिसँग कुराकानी गर्ने अनि भारत जाने योजना बनाएँ। शब्दघर छापाखाना, बागबजारलाई अस्थायी अखडा बनाएर हामी तयारीमा जुट्यौं। क्यामेरा पर्सन जयराम थापासँग प्राविधिक कुराहरू मिलाएपछि गजलकार तथा मणिपुर असममा भारतीय सेनामा कार्यरत सुरज गुरुङ, त्रिवि कीर्तिपुरमा एमए अध्ययनरत असमकै भाइ दुर्गा चाम्लिङ राई, कवि प्रोल्लास सिन्धुलीयलगायत बसेर लगभग एक महिनामा पूर्व तयारीका कामहरू सक्यौं। हरिभक्तकी छोरी कविता कटुवाल, गुवाहिटीका पत्रकार सञ्जीव दाहाललगायत असमका व्यक्तिहरूसँग निरन्तर सम्पर्कमा रहेर काम अगाडि बढायौं। विजय ढुंगेल, कथाकार माया ठकुरी, साहित्यकार नगेन्द्रराज शर्मा, संगीतकार बुलु मुकारुङ लगायतका व्यक्तिको सहयोग र सद्भाव हामीलाई थियो।


 साहित्यकार लिल बहादुर क्षेत्री, बिचमा बसेको, उनको पछाडी हरिभक्त का भाइ उपेन कटुवाल लगायत

२०७१ साल फागुन २४ बाट सुटिङ सुरु गरियो। काठमाडौंमा रंगकर्मी तथा निर्देशक श्रीराम दाहालले धेरै सहयोग गर्नुभयो। लगभग दुई हप्तामा काठमाडौंमा खिच्नुपर्ने दृश्यहरूको छायांकन गरेर ०७१ चैत ११ गते असमको यात्रामा निस्कियौं— जयराम थापा, सुरज गुरुङ, दुर्गा चाम्लिङ राई र म। बाटामा धेरै अवरोधहरूको सामना गर्दै र केही रमाइला स्मरण सँगाल्दै १४ गते बिहान डिगबोई उत्रियौं हामी। हरिभक्त–पुत्री कविताको नाम लिएकै भरमा हामीलाई रिक्सावालाले उनको घरसम्म पुर्यानइदिए। डिगबोई पुगेर हामीले छायांकन गर्यौंत— हरिभक्तले पढाएको एओसी स्कुल, पेङ्रीको हरिभक्तको घर, जहाँ ब्रह्मपुत्र नदीले विस्थापित गराएकाहरूलाई तत्कालीन सरकारले पुनर्स्थापित गराएको थियो। मुलियाबारीमा भाइ उपेन क्षेत्रीसँग मिलेर हरिभक्तले खोलेको तरकारी पसल भएको स्थान पनि छायांकन गर्न भ्यायौं हामीले ।

हामीसँगै जीवनमै पहिलोपटक कवि–पुत्री पनि पुग्नुभयो— हरिभक्त जन्मिएको स्थान बर्डविलको ख्वाङ गेर्गेरी गाउँ। बुढीडिङको उत्ताउलोपनको सिकार भएको नेपाली बस्ती देखेर आँखा भरी भए। सायद आफ्नोपनले छुँदो रहेछ नेपाली–नेपाली जहाँ बसे पनि। हरिभक्त जन्मिएको स्थान हामीलाई देखाइदिए स्थानीय भीम क्षेत्री र मनबहादुर क्षेत्रीले। फर्किएर हामी पुग्यौं नौ महिनाका हरिभक्त च्यापेर वीरबहादुर कटुवाल बसाइँ सरेर आएको बोगिविल। ब्रह्मपुत्रको किनारमा बसेर हामीले क्षितिजसम्म नियाल्यौं र खोज्यौं— मिनी नेपाल भनिने असमका नेपालीहरूको बगाएको बस्ती, जहाँ हरिभक्तले आफ्नो बाल्यकाल र किशोर अवस्था बिताएका थिए। ब्रह्मपुत्रको किनारमा कतैकतै रहेको घर खोज्दै हरिभक्तका बालसखा भक्त क्षेत्रीको घरमा पुग्यौं।

'हुर्किएका छोराछारी सबै लाखापाखा लागे म बूढो यो घर कुरेर बसेको छु,' पुग्नेबित्तिकै उहाँले दुःखको पन्तुरो फुकाउनुभयो। कान अलि कम सुन्ने उहाँले हरिभक्तका कविता कण्ठ सुनाउँदा हामी तीनछक पर्यौं । बाल्यकालका घटनामात्रै होइनन््, पूरै कविता कण्ठ थियो, त्यो पनि करिब पैंसठ्ठी वर्षपहिलेको।

कुराकानीको क्रममा उहाँको गुनासो थियो, 'घरपरिवार सबैसबै छोडेर नेपाल गएर के पायो त आखिर हरिभक्तले!'

छुट्टिने बेलामा मेरो हात समाएर आँसु चुहाउँदै भन्नरभयो, 'तपाईं पहिलो व्यक्ति हुनुन्छ, जो हरिभक्त खोज्दै आज यहाँसम्म आइपुग्नुभयो, तपाईंले थालेको काम सफल होस्!' आशीर्वाद लिएर फर्कियौं हामी। त्यहाँबाट पुग्यौं— हरिभक्त भर्ना भएर पनि कमजोर आर्थिक अवस्थाका कारण पढाइ छोडेका डिब्रुगढ कलेज। उनले पढेको डिब्र्रुगढको जर्ज हाइस्कुल र भर्ना भएको डिब्रुगढ मेडिकल कलेजको छायांकन सकेर कुञ्जन शाहीको घरमा पुग्यौं। हरिभक्तसँगै सात वर्ष एउटै खाटमा सुतेको र एउटै थालमा खाएर हिँडेको स्मरण गर्दा धेरैपटक भक्कानो फुट्यो उनको। त्यति बेला असमबाट निस्कने 'दीपक' पत्रिका नेपालीहरूको घरघरमा पुर्याकएर 'हाम्रो पनि भाषा छ संस्कृति छ' भनेर नेपाली भाषा साहित्य र संस्कृतिको उत्थानको अभियान चलाएको कुरा सुनाउनुभयो उहाँले।

'परिवारले नमान्दा नमान्दै पनि आफ्नी बहिनी जयकुमारी शाहीको कन्यादान हरिभक्तसँग गरिदिएर त्यो भावनात्मक सम्बन्ध पारिवारिक नातामा परिणत गराएँ मैले,' अस्पतालको दर्दनाक अवस्थाको बारेमा सोध्नेबित्तिकै बोल्दाबोल्दै उहाँको वाक्य बन्द भयो। आँखाबाट झरेका बलिन्द्रधारा आँसुसँगै भक्कानिँदै दबिएको अवाजमा भन्नुभयो, 'सारा संसारले कवि र गीतकार भनेर चिनेको व्यक्तिको मलामी जम्मा तेह्र जना!'

एकछिन त हामी पनि निःशब्द भयौं। आखिर हामीलाई पनि फर्कनु थियो। शाहीको आतिथ्य सकेर हामी हुइँकियौं हरिभक्तको अन्तिम संस्कार गरेको चौकीढिङको मसानघाट। हामीलाई डोर्यातउँदै हुनुहुन्थ्यो कविता दिदी। साथमा हुनुहुन्थ्यो, किशोर भएर पनि साहित्यमा गहिरो रुचि बोकेका कटुवालका नाति नवोदित क्षेत्री। चाहेर पनि टाढा भएको कारण कविकी माइली छोरी काव्या क्षेत्रीसँग भेट हुन सकेन। कविता दिदीको आत्मीयपन र सहयोगप्रति नतमस्तक रह्यौं हामी। आत्मीयता र आफ्नोपनभित्र कुनै स्वार्थ थिए, थियो त नेपाली गीत र साहित्यका लागि आफ्नो जीवन उत्सर्ग गर्ने स्रष्टालाई सम्झेर वर्षौंपछि कोही आएकोमा ममता थियो— जस्तो कि हराएको सन्तान घर फर्कंदा एउटी आमामा हुने खुसी।

'धेरै आए तर आश्वासनमात्रै दिएर गए। आशा छ, तपाईंहरू सपनाको ललीपप बाँडेरमात्रै पक्कै फर्कनुहुन्न,' फर्कने बेलामा एउटै अपेक्षा थियो कविता दिदीको, 'तपाईंहरूले पक्कै बुझ्नुहुनेछ हरिभक्तलाई।'

सिन्दुरे साँझमा हामीले डिब्रुगढ छोड्यौं, कविता दिदी डिगबोई फर्कनुभयो।

०००


ब्रम्हपुत्र नदिमा लेखक पुरु लम्साल

रातभरको रेल यात्रापछि हामी उत्रियौं गुवाहिटी। गाइड दुर्गा भाइ। हामी सरासर गोर्खा भवन गयौं, जहाँ हाम्रो पर्खाइमा हुनुहुन्थ्यो युवा पत्रकार सञ्जीव दाहाल। गोर्खा भवनमै सबैसँग भेट्ने चाँजोपाँचो मिलाउनुभएको थियो सञ्जीवले नै। गुवाहिटीमा भेट्यौं— उपन्यासकार लीलबहादुर क्षेत्री।

'सृजना बाँचिरहेको देशमा एउटा सर्जक किन सधैं मरिरहन्छ?' यही गुनासो र सोधाइसँगै उहाँले अतीत पल्टाउनुभयो, 'जति बेला असममा नेपाली पाठ्यपुस्तक थिएन, त्यो बेला हरिभक्त म मिलेर असमको नेपाली भाषाको विद्यालयका बाल पाठ्यक्रम तयार पारेका थियौं।' हरिभक्तका कान्छा भाइ उपेन कटुवाल क्षेत्रीसँग पनि दाजुसँग जोडिएका उही सम्झनामात्र थिए। 'दाजुले मायाले किनिदिएको गिटारमा दाजुकै गीत गुनगुनाउँथेँ म, हामी मिलेर तरकारी पसल खोल्यौं,' उहाँले सम्भि्कनुभयो, 'म पसलमा बस्थेँ दाजु पेङ्रीबाट रायोको साग बोकेर मुलियाबारीसम्म पैदल आउँथ्यो। दाजुले केही समय भात होटेल पनि चलायो तर उसको कविमन कहीँकतै अडिएन।'

कटुवालकी कान्छी छोरी कल्पना क्षेत्रीले केही समय काठमाडौंमा बाबुसँगै बिताएका पलहरू सम्झँदा उहाँका आँखा त ओभानो हुनै सकेनन्, हाम्रा पनि आँखा कति बेला चिसा भइसकेछन् पत्तै भएन।

'म कविता लेख्दै छु, तिमीहरू डिस्टर्ब नगर है!' भनेर पुतलीसडकको डेराभित्र बुबा लेख्न थाल्नुहुन्थ्यो। म बाहिर सिँँढीमै निदाउँथेँ। बुबा कहिले लेखिसकेर मलाई भित्र लगेर सुताउनुहुन्थ्यो, कहिले म रातभरि सिँढीमै निदाउँथेँ,' विगत सम्झँदै गर्दा कल्पना दिदीको प्रश्न थियो, 'अहिले बुबाको बारेमा नराम्रो कुरामात्रै सुन्दा हामीलाई राम्रो लाग्दैन। एउटा बितेर गएको मान्छेको बारेमा किन नकारात्मक सोचमात्रै पालेका होलान््, नेपालका कवि साहित्यकारहरूले?'

तर, उत्तर हामीसँग थिएन!

गुवाहिटीमै भेटिनुभएकी उहाँकी विद्यार्थी बिजुली बोरुवा क्षेत्रीले 'हरिभक्तका रचनाहरू असमीया भाषामा अनुवाद गर्दै छु' भन्दा नेपाली साहित्यको बजार अलिकति भए पनि फराकिलो हुने आशा हामीमा पलायो। साहित्यकार नव सापकोटाबाट हामीले थाहा पायौं हरिभक्तको रचना—

'यो देशको माटोले भन्छ, यो देशको ढुंगाले भन्छ

हाम्रो पनि रातो रगत यहीँ बगेको छ

हाम्रो पनि तातो पसिना यहीँ खसेको छ।'

असमका नेपालीहरूको राष्ट्रिय गीतका रूपमा अहिले पनि बज्छ यो गीत। गुवाहिटीमै हामीले भेट्यौं बाल साहित्यकार मुन्नी सापकोटा। त्यहाँको छायांकन सकेर फर्कनु थियो सिलगुडी र भेट्नु थियो संगीतकार जीवन अधिकारीलाई, जसले हरिभक्तका धेरै गीतमा संगीत भर्नुभएको थियो।

बेलुकी रेलमा साथीहरू निदाउनुभयो म भने निदाउन सकिनँ। धेरै झुटा इतिहास पढाइएको रहेछ हरिभक्तको बारेमा हामीलाई। १९९२ साल असार १८ गते मंगलबार असमको बोगिविलमा हरिभक्त जन्मिएका हुन्् भनेर पढ्यौं तर उनी बर्डविलमा जन्मिएका हुन्। ०३७ भदौ २५ गते निधन भएका उनको अन्तिम संस्कार ब्रह्मपुत्रको किनारमा नभई चौकीढिङको मसानघाटमा गरिएको हो। धेरै डर र त्रासहरूको घेरामा बन्दी भएर सोचिरहेँ। राज्यले एउटा सर्जकका लागि के–कति गर्न सक्छ मलाई थाहा छैन। गर्नुपर्छ कि पर्दैन त्यो पनि थाहा छैन। तर, मैले जे गर्न खोजेँ, जे गरेँ त्यो पूर्ण पक्कै छैन। आज म हरिभक्तलाई खोजेर फर्कंदा जति खुसी छु, त्योभन्दा कैयौं गुणा बढी चिन्तित छु— भोलिको पुस्ताले लक्ष्मीप्रसाद बिर्सिन्छ कि! बालकृष्ण समलाई चिन्दैन कि! भूपि शेरचन हराउँछन् कि! गोपालप्रसाद रिमाल, पारिजात, भानुभक्त, भीमनिधिहरू बाँच्दैनन् कि ! ?