पुर्व राजदूत मोहनकृष्ण श्रेष्ठको “कूटनीतिमा तीन दशक” पुस्तक पढेपछि :जीवा लामीछाने

Posted on: May 03, 2016 | views: 290


---------------------------------------

यो पुस्तक कुटनीतिमा लामो समय बिताएका पुर्व राजदूत श्री मोहनकृष्ण श्रेष्ठका व्यक्तिगत अनुभूतिको वृतान्त मात्रै नभएर जीवन जगतका धेरै पक्षलाई यसमा समावेस गरिएको छ ! लेखकले आफ्नो ३२ बर्षे कुटनीतिक जीवन यात्राको सुरुआतका दिनहरु, बिशिस्ट व्यक्तिहरुसंग जोडिएका रमाइला प्रसंग, आफूले भ्रमण गरेका ७१ देशको संक्षिप्त परिचय र तत्-तत् देशमा भ्रमण गर्दाका रोचक प्रसंगहरुलाई छोटकरीमा बर्णन गरेका छन् ! त्यस मध्येको एउटा, पत्रकार ऋषि धमलाले बिना भिषा भुटान भ्रमण गर्दा भुटानका गृहमन्त्री समेतको सहयोगमा उनलाई प्रवेशाज्ञा दिलाउनु परेको प्रसंग समेत पुस्तकमा उल्लेख छ !

कुटनैतिक सेवामा प्रवेश गर्नेहरुका लागि त पुस्तक संग्रहणीय नै लाग्यो ! पुस्तकमा कुटनैतिक सेवामा सलग्न हुनेहरुले जान्नै पर्ने प्रोटोकल, म्यानर र ईट्टीकेट (शिष्टता) का कुराहरु: जस्तो कि: स्वागत गर्ने, पोशाकको प्रयोग, दिवा भोज, रात्री भोज, टेबुल म्यानर, खाना सजाउने, राष्ट्रिय पर्व, भाषण गर्ने, जवाफ दिने, टेबुलको सजावट, पेय पदार्थ सर्व गर्ने, सवारीमा बस्ने आदि तौर-तरिकाहरुको समेत संक्षेपमा बर्णन गरिएको छ ! एकजना राजदूतको ब्यबहारबाट त्यस मुलुकको समग्र पहिचान हुने भएकोले राजनीतिक नियुक्तिबाट नियोग प्रमुख हुनेहरुकालागि यो पुस्तक निक्कै सहयोगी हुन सक्छ !

आफ्नो लामो कुटनैतिक सेवा अवधिमा धाक-धम्कि, दुख-कस्ट दिने व्यक्तिहरुसंगका तिता र चित्त दुखाईका प्रसंगहरु पनि प्रसस्तै छन् पुस्तकमा ! कतिपय ठाउंमा नामै किटेर त कतिपय अवस्थामा नाम नकिटिकनै चिनिने गरी त्यस्ता प्रसंगहरु उल्लेखित छन् ! यस्ता प्रसंगहरु पढ्दा कुटनैतिक सेवाबाटै निर्बित्त एक पुर्वराजदूतले ‘फर्गेट एण्ड फरगिभ’ नै सबै भन्दा उत्तम कुटनीति हो भनेको प्रसंग मलाई याद आयो !

यति मेहनत गरेर लेखिएको पुस्तकमा भाषागत त्रुटीहरु देख्दा भने अलि खल्लो अनुभव भयो ! जस्तो कि तपाईंबाट सुरु गरिएको एउटै वाक्य तिमी सम्बोधनमा गएर टुंगिएको छ ! उदाहरणका लागी “उहाँ पछि संयुक्त रास्ट्र संघका लागी स्थायी प्रतिनिधि तथा राजदूत नियुक्त भए ! ‘ पुस्तकमा यस्ता प्रसंगहरु छ्याप-छ्याप्ती छन् !

त्यसै गरी नयाँ ठाउंहरु पुग्दा चलनचल्तीमा रहेका त्यहाँका नामको उच्चारणमा हुन सक्ने गल्तिबाट पनि पुस्तक अछुतो छैन ! यस्तो हुनु स्वाभाविक पनि हो ! यसरी लेखिएका केही प्रसंगहरु जस्तो कि एरोल्फोट, इकडेरिनबर्ग, ग्लास्नोत, नुरसुल्तान नजारेब आदि नामहरु आगामी संस्करणमा सुधार हुनेछन भन्ने आशा गर्दछु !

रुससंग जोडिएको एउटा सानो प्रसंग चाहिं यहाँ उल्लेख गर्न मन लाग्यो ! सन् ८० को उत्तरार्धतिर रुसमा महंगी र खाद्य सामग्रीको चरम अभाव भएको कुरा सत्य हो तर एक किलो चामलको मूल्य पुस्तकमा उल्लेख गरिए झैं ८/१० डलर परेको मलाई सम्झना छैन ! सायद उहालें ८/१० रुबल भन्नु खोज्नु भएको हो कि ?

पुर्व राजदूत श्री मोहनकृष्ण श्रेष्ठज्यूलाई हार्दिक बधाई तथा शुभकामना !