कविता:- अर्पन्छु पुष्पाञ्जली

Posted on: July 09, 2017 | views: 309

ब्रह्मा,विष्णु,महेश्वरादि तिमी हौ,हौ मुक्तिदाता तिमी

साक्षात् श्री परब्रह्म हौ,जनक हौ,माता र भ्राता तिमी

तिम्रो स्नेह मिलेर जीवन सयौँ चम्के धिपिक्कै बली 

हे ! प्यारा गुरु आज शुद्ध मनले,अर्पन्छु पुष्पाञ्जली ll १ ll

बाँड्यौ अमृतको घडा दिनदिनै संज्ञान मेरो खुल्यो

हुर्कायौ विरुवा अतीव मलिलो पाएर माया फुल्यो

डोर्‍यायौ करमा समाइ अहिले सम्झन्छु त्यो झल्झली

हे ! प्यारा गुरु आज शुद्ध मनले,अर्पन्छु पुष्पाञ्जली ll २ ll

पीडामा,भयमा तथा सकसमा चोखा दिलासा भर्‍यौ

फस्दा खाडलमा झिकेर सहजै सम्पूर्ण बाधा हर्‍यौ

सोच्यौ मात्र भलो पवित्र मनले सोचेन कैले छली

हे ! प्यारा गुरु आज शुद्ध मनले,अर्पन्छु पुष्पाञ्जली ll ३ ll

जे जे थ्यो मनमा विकार ननिका सारा पखाली दियौ

पाएँ कोमल जिन्दगी सरल यो साँच्चै विधाता थियौ

सम्झी आज महान मानव तिमी छन् नेत्र यी भल्भली

हे ! प्यारा गुरु आज शुद्ध मनले,अर्पन्छु पुष्पाञ्जली ll ४ ll

(शार्दूलविक्रीडित छन्द) 

-कोमल भट्ट

च.न.पा.१३,काठमाडौँ

हाल:-न्युयोर्क,अमेरिका