इश्वरलाइ ज्ञापनपत्र -कृष्ण कट्टेल

Posted on: May 01, 2016 | views: 269

महाराज
तिम्रो बस्तीले आफुलाइ भन्दा प्यारो ठान्छ
मेरो पसिनाले उब्जाएको
धान् मकैको गेडो
उत्तिकै प्रीय ठान्छ
मेरो पौरखले फलाएको
स्याउ सुन्तलाहरु
तर कहिल्यै आफ्नो ठानेन
तिम्रो बस्तीले मलाइ ।

बर्षौदेखि मेरो लाज ढाकिदिएको
दौराको फेरो
नाङ्गै गन्ध सुगन्ध कुल्चिएर
साहस बटुलिदिने मेरा पैताला
तिम्रै बस्तीको प्राण बचाइदिन
मेरो जीउभरी निस्किएको पसिनाको टाटो
सबै घिनलाग्दो देख्छ तिम्रो बस्तीले ।

आफ्नै पैतालाको डोबले
बनाएको बाटो हुदै
जूनघाम र जूनकिरीको मुस्कानमा
दिनरात कटाउदै
माटोमाथी हरियाली अक्सिजनको
कार्पेट बिच्छ्याएर
मैले पिएचडि गरेको छु
ढुंगा माटोलाइ पाठशाला बनाएर ।

तिम्रो बस्तीले
मलाइ झै घिनलाग्दो देख्नेछ
मेरो इलाका
तिमीले समेत बुझ्न सकेनौ महाराज
मेरो बस्तीको कहानी
त्यसैले खोज्दैछु यतै कतै भेटिन्छ कि
इश्वरहरुको बस्ती
किनकी,बुझाउनुछ ज्ञापनपत्र
लिनुछ बद्ला मलाइ विभेद गर्नेसँग

इश्वरले समेत सुनेनन् भने
दुर्गमको भाका
मैले झै विभेद सहनुपर्छ भने
मेरा सन्तानले पनि
विरोधस्वरुप म,माटोमा प्राण फलाउदिँन
नरहे बाँस
नबजे बाँसुरी ।।