पाठशाला -प्रमोद अधिकारी

Posted on: May 03, 2016 | views: 341

म सोच्दैछु नानीहरु

पढेर पुरस्कार पाउछन्
या पुरस्कारकोलागि पढ्छन् ।

अभिभावक भेला हुन्छ विद्यालयमा
गणपुरक सङ्ख्या पुर्याउनकैलागि
मुस्किलले जुटाइन्छन् बा अामाहरु ।

सुनिबस्छन् अभिभावकहरु
पट्यारलाग्दा भाषण
लाग्दो हो तिनलाई पनि
हामी जहाँ जहाँ भेला हुन्छौं
हाम्रो अगाडिको मञ्च
भाषण गर्नकैलागि बनेका हुन्छन् ।

खुब पढ्छन् नानीहरु
जसरि गुरुहरु पाठ्यपुस्तक पढाउछन्
प्रश्नले जे खोजेको हो
उत्तर ठ्याक्कै मिलाएर भन्छन्
दुरुस्तै लेख्छन् ।

पाठभन्दा बढी प्रश्न छन् पुस्तकहरुमा
नानीहरु पनि अभ्यस्त छन्
पाठ नबुझेर के भो
प्रश्नका उत्तरहरु खोजी खोजी कण्ठस्थ पार्छन् ।

किन नघोकुन् नानीहरुले पनि
प्रश्न जतिनै पुरस्कार पाउछन् भेलामा
बा अामाको पनि छातीको उचाइ
जो पुरस्कारले बढाउछ बर्षेनि ।

जसले बढि प्रश्नोत्तर घोक्छ
उसैले भारी पुरस्कार बोक्छ ।

यो खेल हो पुरस्कारको
जो पाठशालामा खेलाइन्छ ।

नानीहरु दङ्ग पर्छन्
जसको हातबाट अबिर अनि अाशिर्वाद थाप्छन्
भेलाका अाकर्षण उनै प्रमुख अतिथि
सबभन्दा लामो समय भाषण गर्छन्
प्रधानाध्यापकलाई बधाई दिन्छन्
प्रसंशा गर्छन्
नानीहरू तालि बजाइबस्छन्
बचेखुचेका अभिभावक पनि अवाक देखिन्छ ।

पछाडि पङ्तिमा गुरुहरुको एउटा समुह हुन्छ
खुबै कानेखुसी चल्ने गर्छ प्रत्येक वर्षको भेलामा
जब प्रमुख अतिथि मन्तब्य ब्यक्त गर्न थाल्छन् ।

भेला समापन गर्छन् अध्यक्षले
अभिभावक उसैगरि घर फर्कन्छन्
जसरी पोहोर परार फर्कने गर्थे
यो पटक पनि हस्ताक्षर गरेर गए बा अामाहरुले ।

यो पाठशामा गरिएको हस्ताक्षर हो
मालपोतको ढड्डामा लगाएको ल्यप्चे होइन नि
अादरणीय अभिभावक ज्यु ।

प्रमोद अधिकारी हेटौंडा -२९, नेवारपानी