मैले नजन्माएकी कविता -एलिसा पौड्याल

Posted on: May 02, 2016 | views: 512

पटकपटक
कलम र कापीको संसर्ग गराएर
फाउन्टेन पेनको मुखबाट
मसीहरु ओकेलेर
कापीको भङ्गाकुरलाई
थिच्दै
धकेल्दै
मैले प्रयास गरिरहेँ
निरन्तर
एउटी कविता जन्माउन

विचारका बिछ्यौनामा लमतन्न सुतेर
भावहरुलाई कामुक बनाउँदै
दिमागबाट,
मदहोसीको बास्ना निकाल्दै
चिच्याइरहेँ
नाइँ
भएन...भएन
मिल्दै मिलेन
म लडिरहेँ
कलमसँग लडाइँ
केबल
एउटी कविता जन्माउन

प्रयास, प्रयास, प्रयास गर्दागर्दै
बल्लतल्ल
मिसियो मसी
मेरा भावहरुमा
कविताको सानो भ्रुण
बस्यो
मेरो कापीको एक कुनामा
बढाइरहेँ
बढिरह्यो आकार
म विलिन थिएँ
आफ्नै दुनियाँमा
आफ्नै खुसीमा
कविता
मेरी कविता
जन्मिँदैथिन् छिट्टै

त्यहीबेला
हो त्यहीबेला
मेरा पाठक आइपुगे
सुनाइदिएँ मैले
कविता
आफ्नो अपुर्ण कविता
प्रतिक्रियामा
खुम्चिए नाक
चाउरिए आँखीभौँ
असुन्दर
कुरुप
सायद यस्तै थिई मेरी कविता
प्रतिक्रियाको प्रतिक्रियामा
मैले
च्यातिदिएँ कापी
निमोठिदिएँ
मेरी कविताको घाँटी
भ्रुण मै
मेरी प्यारी कविता
रुँदैछे
ऊ त्यहाँ...
डस्टबिनमा
मेरो उपहास गर्दै