सपनाको दुर्घटना -एलिसा पौड्याल 'एकलास'

Posted on: June 11, 2017 | views: 594

हिजो जिन्दगीको मौसम सफा हुँदा नै

देखेकी हुँ

छानामा ठोक्किएर 

भुँइमा बजारिएका पानीका थोपाहरु तहलाउन

बा'ले कुलेसो खन्नुभएको

त्यसैदिन थाहा पाएको हो सानो मगजले 

आँसुले पनि बहन बाटो खोज्दोरहेछ

हो, 

त्यसैदिन त्यही कुलेसोलाई सागर बनाएर 

मैले दौडाएकि थिएँ सपनाको टाइटानिक

आज

जिन्दगीको मौसम खराब चलिरहँदा

म नियाल्दै छु 

मेरो हातबाट छुटेर आकासमा उडिरहेको बेलुनजस्तो जिन्दगी

आजै थाहा पाएँ 

सास हलुङ्गो हुँदो रहेछ 

सास गर्हुङ्गो हुँदो रहेछ

प्रिय प्रितम 

जिन्दगीको टाइटानिक डुबेकै दिन

तिमी भेट्टियौ 

अब जिन्दगीको जहाज 

मेरो पर्खाइको पहाडमा नठोक्किँदै 

तिमी सुरक्षित अवतरण हुनु मेरो दिलमा

मलाई

सपनाको दुर्घटना स्वीकार छ

तिमी सकुशल फर्कनु..