कविता "आमा" –वैरागी जेठा

Posted on: April 26, 2017 | views: 606

आमा !

तिमीले जन्माएको पिँडी छैन
आज
तिमीले काखी च्यापेर सुताएको
तिम्रा हातले लिपेको
सुन्दर खाट छैन
मेरी आमा !
तिमीले मस्याङ झारेकी
अनि कोदो चुटेकी 
आँगन छैन !
तिम्रो आकृति सम्झेर
मनका भावहरू
सङ्कलन गरिरहेछु
यतिखेर !
आज तिम्रो अनुहार हेर्न
कवितामा दगुरिरहेछु
हो आमा !
तिम्रो छोरो 
देशको कवि भएर मर्ने छ
एकपटक हाँसिदेउन
सिमपानीको कुवा हेरेर
तिमीलाई हेरिरहेछु
घाँसका डोकाहरू
तिमीले पाएका थुप्रै पीडाहरू
मेरो सङ्ग्राहालयमा
सजाएर राखेको छु
मेरी आमा !
एकजोर कपडा किनेर दिन सकिन
एक थुँगा फूल दिन सकिन
नरौऊ है आमा !
फोहरी कुण्डमा गएर
घिनलाग्दो बाहुनलाई सिदा 
मैले दान गरिन आमा
बरु मैले
तिम्रो सम्झनामा
कविता लेखेको छु
बाङ्गेडाँडाको 
तिमीलाई मनपर्ने धँगेराको फेदमा
बसेर सुन
तिम्रो छोराको कविता
ठूलो पाखाबाट
घाँसा भारी बोकेर झरिरहेकी
मेरी आमा !
चिरबिरेको घट्ट भन्दा माथि
तिमी लडेका यादहरूले
तिम्रो सम्झनामा
कविता लेखेको छु
पढिदेऊ है
मेरी आमा ?
भैरबीसँग प्राथना गरेर
मेरो बोली फुटाउन 
धेरै संघर्ष ग¥यौ
त्यसैले तिम्रो छोरो बोल्ने भएकोछ
मेरी आमा !
यतिबेला तिमी मसँग छैनौ
तापनि
तिम्रो सपनाहरू फुलाउँन
तिमीले सिँगारेको आँगन टेक्दैछु
आमा आमा !

आमा खुवाउने औँसीका दिन आमालाई सम्झेर २०७४ । १ । १३