लघुकथा -प्रेम अपराध

Posted on: May 02, 2016 | views: 542

एलिशा पौड्याल-

एकाबिहानै हल्ला चल्यो- सोसल ग्राउन्डमा केटि मारेर फाल्या छरे। मान्छे तँछाडमछाड गर्दै दौडिए त्यतैतिर। ममि, बाबा, बैनि सबै गए लास हेर्न ।

फर्केर आए अनि सुनाए विचरीलाई तन्नामा पोको पारेको रैछ। एउटा स्तन बाहिर निस्केको छ, पाइन्ट पनि उल्टो लगाइद्या रैछ। कसले मार्यो, किन मार्यो, के गरेर मार्यो, कोहो त्यो केटि?? सबै प्रश्न गर्दैथिए। आफैँमा उत्तर खोज्दैथिए। म डेग चलिनँ घरबाट। यसैपनि लास हेर्न के जानु ?

दाइ आउनुभो, सोध्नुभो- ओइ तँ गइस्?। गइन- मैले छोटो जवाफ दिएँ। हिँड् जाउँ- उहाँले भन्नुभो। नाइँ- जवाफ फर्काएँ। हिँड् न हिँड् मलाई एक्लै जान मन लागेन के प्लिज- दाइले जिद्दी गर्नुभएपछि म नि लागेँ दाइको पछिपछि सोसल ग्राउन्डतिर ।

सानोतिनो मेलाका झैँ मान्छे जम्मा भएका थे त्यहाँ। कुनामा एउटा थुप्रो थियो- सेतो कपडाले छोपिएको। मान्छे त्यहिँ झुम्मिएका थिए। पुलिसहरु पहरा दिँदै थिए। बेलाबेलामा यसो मुख देखाउँदै सोध्दैथिए भिडलाई- के यो मान्छे चिन्नुहुन्छ। भीड मौन थियो।सायद कसैलाई थाहा थिएन लासको परिचय ।

मलाई पनि के थाहा कोहो त्यो केटि। म मौन बसेँ- टुलुटुलु हेर्दै। तर दाइ। दाइ बर्बर आँशु झार्दै हुनुहुन्थ्यो। एकैछिनमा घुँक्कघुँक्क रुन थाल्नुभो- सबैको ध्यान आफैँतिर तान्दै। भिड लास छोडेर दाइलाई घुर्न थाल्यो। मानौँ दाइ नै बलात्कारी हुन्। दाइ नै हत्यारा हुन् त्यो केटिका। म सोध्दैथिएँ- दाइ किन रुनुभाको। जवाफ आउँदै आएन। एकोहोरो रुनु भो मात्र ।

पुलिसले आए र घेरे दाइलाई। मानसिकतामा सम्भावित अपराधिको चित्र बोकेर केरकार गर्न थाले पुलिसहरु विचरा दाइ रोइरहनुभयो। मुख खोल्नैपर्ने थियो, दाइले बोल्नैपर्ने थियो।

बोल्नुभो दाइ- यो मेरी प्रेमिका हो। दाइ फेरी मौन- भीडमा हल्लाखल्ला मच्चियो। त्यो मारेर फाल्या केटी त फलानाको छोराकी गर्लफ्रेन्ड रे?? कतै यसैले त मार्या हैन त्यसलाई कोही भन्दैथिए। के भर आजकालका केटाको- अर्को भन्दैथियो। हेर, एक्लो छोराको चाला? यस्तो छोरो हुनुभन्दा नहुनु नै वेश.. अर्को बोल्यो भीडबाट। सबैको नजरमा मेरै दाइ अपराधी बन्दै हुनुहुन्थ्यो ।

दाइ, बोल्नुस् न। मैले मारेको हैन भन्नुस् न- दाइलाई झक्झक्याउँदै बोलेँ म। दाइ बोल्नुभो बिस्तारै । उसको नाम रश्मि हो। हामी सँगै पढ्थ्यौँ । माया गर्थ्यौँ एकअर्कालाई । उसको मभन्दा पहिलेपनि प्रेमी थियो। जसलाई ऊ असाध्यै माया गर्थि। तर त्यो केटाले रश्मीलाई हैन उसको शरिर चाहन्थ्यो ।

यो कुरा मलाई रश्मीले भनेकी हो। एकदिन एकान्त पारेर त्यसले रश्मीलाई जबर्जस्ती गर्न खोज्यो। बल्लतल्ल रश्मीले बचाइ आफूलाई र छोडिदिई उसको साथ। पछि रश्मि र म एकअर्कालाई प्रेम गर्न थाल्यौँ। हामी खुसी थियौं। तर हिजो? त्यो केटा आयो थाहा पाएर हाम्रो प्रेम। रश्मीलाई जबर्जस्ती लान खोज्दैथियो। झापड हानी उसले। त्यसले धम्की दियो। तँ मेरी भइनस् भने अरुकी नि हुन दिन्नँ। आज त्यसैले मारिदियो मेरी रश्मीलाई- दाइ रुन थाल्नुभो घुँक्कघुँक्क

भिडको मुखमा बुझो लाग्यो। मेरो दिमागमा एउटै प्रश्न थियो- प्रेममा प्राप्ति हुन्छ या प्राप्तिमा प्रेम??