"भुसतिघ्रे" -भानुभक्त आचार्य

Posted on: February 12, 2017 | views: 1057

उसले
मिहिनेत गर्यो, पढ्यो,
राम्रो श्रेणिमा
स्नातकोत्तर सक्यो,
जागिर सम्बन्धी तालिम लियो,
धेरै ठाउँमा दगुर्यो,
फारम भर्यो, आवेदन दियो,
लिखितमा नाउँ निकाल्यो,
तर सधैं अन्तर्वार्तामा फेल भो,
दुनियाँले सम्झ्यो–
केटो भुसतिघ्रे भो ।
---------------------
जागिरको घनचक्करमा
महिना बित्यो, वर्ष बित्यो,
बेरोजगारीमै दशक बित्यो,
वाक्क दिक्क भो,
कुनै सिप नचलेपछि
आफ्नै थातथलो फर्क्यो,
खेतबारी खन्यो, जोत्यो ।
तर गाउँमा रमिता भो,
एमए पढेर हलो जोत्यो,
दुनियाँले भन्यो,
यो त साँच्चै भुसतिघ्रे भो ।
---------------------
रहरको छोरो
गर्भमै अड्याउन पनि
आमालाई कम्ता परेको थिएन,
निकै डाक्टर, वैद्य धाएर
मनकामनामा भाकल गरेर
निक्कै मुस्किले जन्मिएको
निकै ख्याल गरेर हुर्काएको,
कुलको एकमात्र सन्तान ।
बाउले धेरै खर्चेर
निजी स्कुलमा पढाएको,
छोरो स्याहर्न,
आमाले जागिर नखाएको,
सबै हिसाब गर्दा करोडले पुग्दैन
कमाइ खुवाउने बेलामा
केटो बेरोजगार भो
दक्षता अनुसार मौका नपाउँदा
दुनियाँका नजरमा–
केटो भुसतिघ्रे भो ।
---------------------
उता,
एउटा मान्छे जन्माउन,
पढाउन, बढाउन, दक्ष बनाउन
मिलियन डलरले नपुग्ने
हिसाब निकाल्दै
एउटा विदेशीले
जनशक्तिको खोजीमा
डिभी चिट्ठा खोल्यो ।
मर्नुभन्दा बहुलाउनु निको,
उसले चिट्ठा भर्यो,
पहिलो लटमै छनोटमा पर्यो
सुको खर्च नगरी विदेशीले
एउटा सक्षम भुसतिघ्रे भेट्यो,
विदेशी दंग पर्यो ।
विदेशिएको वर्ष दिनभित्रै
उसले राम्रो जागिर भेट्यो
किस्ताबन्दीमै भए पनि
घर किन्यो, गाडी किन्यो
भुसतिघ्रे भन्नेहरुलाई
देखाउनै भएपनि
फेसबुकमा राख्यो ।
मनमनै सोच्यो,
पहिलेको भुसतिघ्रे
अब कहाँ भुसतिघ्रे रह्यो र ?
---------------------
यता,
उसले
देश छाड्यो,
माया मार्यो,
राष्ट्रियता बेच्यो,
यो राष्ट्रघाती हो भन्दै
छरछिमेकीहरुले
उसको जन्मघरमा
तालाबन्दी गरे ।
भुसतिघ्रे जिल्ल पर्यो,
अनि मनमनै प्रश्न गर्यो,
दिनहुँ दुईहजार
किन विदेसिइरहेका छन् ?

© भानुभक्त आचार्य, २०७३ फागुन १