प्रलेस काठमाडौँ अध्यक्षमा कार्की चयन

Posted on: May 02, 2016 | views: 293

३० फागुन, काठमाडौं ।
प्रगतिशील लेखक सङ्घ नेपाल ९प्रलेस०को तेस्रो काठमाडौँ जिल्ला सम्मेलनले बालमुकुन्द कार्कीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा रामचन्द्र हुमागाईं, मुक्तान थेवे र केशरी अम्गाईं, सचिवमा भीम क्षेत्री, सहसचिवमा प्रकाश थापा मगर र कोषाध्यक्षमा प्रकाश हुमागाईं निर्वाचित हुनुभएको छ ।

    सम्मेलन उद्घाटन गर्दै सङ्घका केन्द्रीय महासचिव मित्रलाल पङ्गेनीले मुलुकमा सामन्तवादको गजुर ढले पनि त्यसको मन्दिर नढलिसकेकाले वैज्ञानिक चिन्तन र जनमुखी समाज निर्माणका लागि निरन्तर लेख्नुपर्ने बताउनुभयो ।

    नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष डा जीवेन्द्रदेव गिरीले नेपाली साहित्यको विकासका प्रगतिशील लेखनको महत्वपूर्ण भूमिका रहेको भन्दै सङ्घको सम्मेलन सफलताको कामना गर्नुभयो ।

    यस्तै, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष डा ईश्वरचन्द्र ज्ञवाली, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका प्रतिनिधि बलराम तिमल्सिना, प्रगतिशील सांस्कृतिक समाजका प्रतिनिधि कृष्णहरि भट्टलगायतले प्रगतीशील क्षेत्रले मुलुकमा सामन्तवाद र साम्राज्यवादको अन्त्यका लागि लाग्नुपर्ने बताउनुभयो ।

    निवर्तमान अध्यक्ष माधव ढुङ्गेलको अध्यक्षतामा सम्पन्न सभामा निवर्तमान सचिव कार्की र कोषाध्यक्ष धनबहादुर मगरको प्रतिवेदन छलफलसहित पारित गरेको थियो ।

    बन्दसत्र सञ्चालनका लागि इन्द्रबहादुर श्रेष्ठ ‘सरित’को अध्यक्षतामा पाँच सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो । विसं २००९ मा स्थापित प्रलेसको दसौँ राष्ट्रिय सम्मेलन आगामी चैत २६ र २७ गते काठमाडौँमा हुँदैछ ।