डा. रेग्मी शान्ति पुरस्कार वैद्य र उडलाई

Posted on: May 02, 2016 | views: 224

काठमाडौं,पुष ३ । डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार–२०७२ प्रा.डा. तुलसीराम वैद्यलाई प्रदान गरिने भएको छ । वैद्यलाई इतिहास, संस्कृति तथा अनुसन्धानमा उल्लेखनीय योगदान पु¥याएबापत सो पुरस्कार प्रदान गरिने डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समिति अध्यक्ष डा. तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
यस्तै, डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति परस्कार–२०७२ रुम टु रिडका संस्थापक अमेरिकी नागरिक जोन उडलाई प्रदान गरिने भएको छ । शिक्षाको विकासमा नेपाल तथा विश्वमा उल्लेखनीय योगदान पु¥याएबापत उडलाई सो पुरस्कार प्रदान गरिने समिति अध्यक्ष डा. भट्टराईले जानकारी दिनुभयो । डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कारमा रु. १ लाख दगद राशिका साथै सम्मान पत्र रहेको छ भने अन्तर्राष्ट्रिय शान्ति पुरस्कारमा नेपाली संस्कृति झल्कने मायाको चिनो र सम्मान पत्र रहेको छ । 
डा. डिल्लीरमण रेग्मीको १०३औं जन्मजयन्तीको अवसरमा डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिद्वारा पुस ३ गते शुक्रबार लाजिम्पाटस्थित आफ्नै सभाहलमा श्रद्धाञ्जली कार्यक्रमको अवसरमा सो पुरस्कार घोषणा गरेको हो ।  डा. डिल्लीरमण रेग्मीका सुपुत्र मदन रेग्मीले आफूसँग भएका सम्पूर्ण पुस्तकको संकलन डिल्लीरमण–कल्याणी रेग्मी पुस्तकालयलाई हस्तान्तरण गर्ने पुस्तकालयलाई बताएको कुरा अध्यक्ष डा. भट्टराईले कार्यक्रममा जानकारी दिनुभयो ।
आफ्नो जीवनकालमा आर्जन गरेको सारा सम्पत्ति सरकारलाई दान दिएर एक दानवीरको रुपमा दर्ज हुनुभएका वरिष्ठ इतिहासकार एवं राजनीतिज्ञ डा. डिल्लीरमण रेग्मी एक शान्ति र अहिंसाका पुजारी हुनुभएकाले विकास समितिले डा. डिल्लीरमण रेग्मीको जन्मदिनलाई ‘शान्ति दिवस’ को रुपमा मनाउने गरेको हो । 
प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. गंगाप्रसाद उप्रेतीले डा. डिल्लीरमण रेग्मीको देनलाई नेपाल र नेपालीले बिर्सन नहुनेमा जोड दिनुभयो । उप्रेतीले नेपालको इतिहासलाई अंग्रेजी भाषा प्रकाशन गरेर नेपाललाई विश्वमाझ चिनाउने महत्वपूर्ण कार्य गर्नुभएको बताउनुभयो । 
यस्तै, कार्यक्रमका विशेष वक्ताको रुपमा बोल्दै प्रा.डा. जयराज आचार्यले डा. रेग्मीले अँगालेको शान्ति र अहिंसाको बाटोमार्फत नेपाललाई अगाडि बढाउन सके मात्र देश शान्ति र समृद्धितर्फ अगाडि बढ्नेमा जोड दिनुभयो । 

शिक्षा मन्त्रालयका सहसचिव डा. लवदेव अवस्थीले आफ्नो सारा सम्पत्ति आमसर्वसाधारणको उपयोगका लागि नेपाल सरकारलाई दान दिने दानवीर डा. रेग्मीको देनलाई सदैव उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । नेपाल सरकारको तर्फबाट यसको विकास र विस्तारमा आवश्यक सहयोग रहने डा. अवस्थीले विश्वास दिलाउनुभयो । यस्तै, व्यक्ति शिक्षित र देश समृद्ध बनाउनका लागि पुस्तकालयको भूमिका महत्वपूर्ण हुने समितिका सदस्य–सचिव एवं पुस्तकालय प्रमुख भोलाकुमार श्रेष्ठले बताउनुभयो । सो अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।