महाकवि देवकोटाको जयन्ती

Posted on: October 30, 2016 | views: 415

१४ कार्तिक, काठमाडौं ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

महाकवि देवकोटाको १०८ औं जयन्तीका उपलक्ष्यमा  त्रिमूर्ति निकेतनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.राजेन्द्र सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, त्रिमूर्ति निकेतनका कार्यक्रम संयोजक यादव भट्टराई  र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्ति प्रतिको सच्चा श्रद्धान्जली हुने बताउनुभयो ।

महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।

दश वर्षको उमेरदेखि कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका महाकवि देवकोटा नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक मानिनु हुन्छ ।

महाकवि देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ ।

तीन महिनामा ‘शाकुन्तला’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नु भएका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो ।

देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र योगदान आज पनि अद्वितीय छ ।