लघुकथा- 'नारी दिवश' : एलिसा पौड्याल

Posted on: May 03, 2016 | views: 531

हजारौं महिलाको हुल अगाडि बढ्दैथियो प्रदर्शनीमार्गबाट । अधिकारका शब्दले सजिएका  रङ्गिचङ्गि प्लेकार्डहरु बोकेर चर्काचर्का नारा लगाउँदैथिए सुकिला लुगा लगाएका खाइलाग्दा महिलाहरु । जुलुस अगाडि बढिरहेको थियो ।

तिनका चर्का आवाजले सडकको छेऊमा सुतिरहेकि मनमायाका निद्रा खुले। उनले पनि सुनिन् अधिकारका कुरा। बिस्तारै अघि लम्किन् मनमाया जुलुस भएतिरै आफ्नो अधिकार माग्न । छेऊमा गइन् एक महिलाको। उनलाई देखेर हच्किन् ति भद्र आइमाइ ।

मनमायाले हात जोडिन् आफ्नो कुरा सुनिदिन आग्रह गरिन्। तिनको कुरा सुन्नुको साटो धकेलिदिएर अघि लम्किन् ती महिला र ठुलो ठुलो स्वरमा कराउन थालिन्- महिला अधिकार जिन्दावाद...

विचरी मनमाया हात जोड्दै सयौ महिलाका अगाडि पुगिन्। पुकार गरिन् , अहँ सुन्दै सुनेन त्यो भिडले मनमायाको आवाज, देख्दै देखेन उनको आँसु अनि बुझ्दै बुझेन उनको अन्तरहृदयको पीडा। भीड नारा लगाउन मै व्यस्त थियो ।

          टुडिँखेलमा पुगेर जुलुस सभामा परिणत भयो । भाषण गरिए अधिकारका बारेमा। चर्चा भयो महिला हिंसाको ।

छोरी नचाहने बाउ, दाइजो माग्ने दुल्हा, स्वास्नी सताउने लोग्ने, बुहारी नसहने सासू आदि इत्यादि सबै सबैलाई के गर्ने, कस्तो सजाय दिने ? खुब चर्चा भो। तर त्यहाँ उठ्दै उठेन बुहारी पीडित सासुहरुको कुरा ।

आँखा भरिए मनमायाका.. दिमाग सिनेमा बन्यो र आँखाअघि आइपुग्यो त्यही अतित जहाँ मनमाया जोडिरहेकी थिइन् हात, रुँदै भनिरहेकि थिइन् बुहारीलाई- मलाई घरबाट ननिकाल बा, मलाई घरबाट ननिकाल...

तप्पतप्प आँसु झारिन् मनमायाले। सोचिन्- छोरीबुहारिको अधिकारको आन्दोलन रैछ यो। यहाँ मेरो के स्थान...

म कुनामा बसेर नियालिरहेँ त्यो भिड र मनमायाको मनोदशालाई...चुपचाप