कैदि -एलिसा पौड्याल

Posted on: May 02, 2016 | views: 638

सयौँ सपनाहरुका
प्वाँख काटिएर
ठुटो पखेटाको आडमा
उड्नै सकिनँ चरी
अधुरै रहे
जुन छुने चाहहरु
संस्कारका मट्याङ्ग्राले
पाउमा घाउ बनाएपछि
बढाउनै सकिनँ कदम
रोकियो
शिखर चुम्ने अभिलाषा
फलत:
ऊ कैद भई
पिंजडामा

ऊ देख्न सक्छे
नियाल्न सक्छे
त्यो बाहिरको दुनियाँ
पिंजडाभित्रैबाट
तर सक्दिनँ
अहँ सक्दै सक्दिनँ
आफ्नो चुच्चोले ठुङगेर
तोडेर त्यो पिंजडा
स्वतन्त्र हुन
बडो
अधिकारका कुरा गर्छन् मनुवाहरु
तिन्लाइ के थाहा
सास फेर्ने हावासमेत
अनुमतिबिना
प्रवेश गर्न पाउँदैन
उसको पिंजडामा
सुर्यका किरणलाई
प्रवेश पत्र चाहिन्छ
पिंजडाका भित्ता छुन
गार्‍हो पर्छ
चन्द्रमाको चहकलाई
ती भित्ताहरु नियाल्न
अनि
टाढै राखिएको छ
गुलाबका बास्ना
गुराँसका रङ्ग

कमलको वैंसलाई
उसको संघारबाट

मौन थिइ वर्षौंदेखि
हो
पोहोरमात्रै हो
उसले मुख खोलेकी
त्यो सिकारी विरुद्ध
ऊ कराएकी हो
जोडजोडले
जब,
जिउँदैमा गिद्द आइपुगे लुछ्न
उसले तब
गुहार मागेकि हो
जब
ऊ जिउँदै
बन्न लागि सेकुवा
दाइजोको भोक मेटाउन
ऊ त्यतिबेला
आवेसमा आएकी हो
जतिबला
जल्यो उसको गुँड
टुनामुनाको राँकोले
त्यतिबेलै
उसले गुमाएकी हो
आफ्नो दृष्टि
श्रवण शक्ती
आवाज
सबसब
जतिबेला
उसलाई कोच्याइयो
घृणाका विस्टाहरु
कलुषित भावबाट विस्ट्याएर
फेरी त्यो दिनदेखी
ऊ मौन छे
केवल मौन छे
पुन: बिताउँदै छे चरी
उही कैदि जीवन
भावशुन्य भएर