संगीतकर्मीको लगानी डुब्ने चिन्ता

Posted on: April 29, 2016 | views: 219

काठमाडौं: नेपाली सांगीतिक क्षेत्रमा ठूलो लगानी भए पनि प्रतिफल नमिलेकोमा संगीतकर्मीले चिन्ता व्यक्त गरेका छन् । गीतकार करिश्मा घमको दोस्रो एल्बम ‘मुटु’ सार्वजनिक कार्यक्रममा संघका अध्यक्ष लक्ष्मण शेषले नेपाली गीतसंगीतको क्षेत्रमा ठूलो लगानी भइरहे पनि फिर्ता हुन नसकेको बताए ।

 

उनले भने, ‘संगीतकर्मीको लगानी कहाँ र किन खेर गइरहेको छ, यो चिन्ताको विषय हो ।’ विन्ध्यवासिनीका प्रबन्ध निर्देशक सुवास रेग्मीले त्यो लगानी गायकगायिकाको लाइनमै सीमित भएको बताए । 

 

उनले नेपाली गीतसंगीतसँग सम्बन्धित संघसंस्थाले रोयल्टी र सीआरबीटीको व्यवस्थापन गर्न नसक्दा यो क्षेत्र धराशयी हुन पुगेको बताए । गायकगायिकाले विभिन्न कार्यक्रममा गीत गाएबापत गीतकार र संगीतकारलाई पनि रोयल्टी तिर्नुपर्ने उनको भनाइ थियो ।

 

बेलायतमा बसोबास गर्ने करिश्माको एल्बम गीतकार डा. कृष्णहरि बराल, विन्ध्यवासिनी म्युजिक कम्पनीका प्रबन्ध निर्देशक सुवास रेग्मी, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषलगायतले सार्वजनिक गरे ।

 

कार्यक्रममा गीतकार डा. बरालले एल्बमका गीतको समीक्षा गर्दै करिश्माको सिर्जनाको तारिफ गरेका थिए । विन्ध्यवासिनी म्युजिक कम्पनीले बजारमा ल्याएको एल्बमका संगीतकार राजेश थापाले एल्बमभित्र रहेका गीतहरूबारे प्रकाश पार्दै गीतकार घमले बेलायतबाट पठाएको सन्देश सुनाए । 

 

आधा दर्जन गीत समावेश एल्बममा राजेश थापाको एकल संगीत छ भने भने राजेशपायल राई, स्वरूपराज आचार्य, अञ्जु पन्त, दीपक लिम्बू, रजिना रिमाल, मिलन अमात्य र मेलिना राईको स्वर छ ।

 

कार्यक्रममा एल्बमको ‘आँसु लुकाई’ बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरियो । सुवास रेग्मी निर्देशित भिडियोमा गजित विष्ट र अनु शाहले अभिनय गरेका छन् । गीतकारको यसअघि ‘गुनासो’ नामक एल्बम सार्वजनिक भइसकेको छ ।