विश्वसुन्दरीको ताज स्पेनकी रोयोलाई

Posted on: May 02, 2016 | views: 269

काठमाडौं: विश्वसुन्दरी प्रतियोगिता सुरु भएको ६४ वर्ष लामो इतिहासमा स्पेनले पहिलो पटक विश्वसुन्दरी प्रतियोगिताको ताज हात पारेको छ। 

सन् १९५१ बाट सुरु भएको विश्वसुन्दरी प्रतियोगितामा ६५ औं विश्वसुन्दरीको रूपमा स्पेन, बार्सिलोनाकी २३ वर्षीया सुन्दरी मिरेया लालागुना रोयोले ताज चुमेकी हुन् । उनी संसारका एक सय १४ राष्ट्रका सुन्दरीहरूलाई उछिन्दै यस वर्षको विश्वसुन्दरी बनेकी हुन्।

'तपाईंलाई नै विश्वसुन्दरीको ताज किन दिने? ' भन्ने प्रश्नको उत्तर दिँदै रोयोले भनेकी थिइन्, ‘म कडा प्रतिस्पर्धामा र निडर विजेतामा विश्वास गर्छु। मलाई लाग्छ म त्यस्तो प्रतिस्पर्धी हुँ, म जसमा थुप्रै प्रतिभा लुकेको छ जुन म विश्वभर देखाउन चाहन्छु । मलाई बाहिरी रूपमा राम्री देखिनुले भित्रीरूपमा सुन्दर छैन भन्ने हैन। मेरो मन साँच्चै नै सुन्दर छ।'

 

'पोषण' विषयमा स्नातकोत्तर तहको अध्ययन गर्ने सोच बनाइरहेकी रोयोको विचारमा कुनै पनि सुन्दरीको शरीरमात्रै हेरेर विश्वसुन्दरीको ताज दिइँदैन। ‘निर्णायकहरू प्रतिस्पर्धीको आत्मा कस्तो छ परीक्षण गर्छन्। त्यत्तिकै महत्वपूर्ण हुन्छ नैतिकता पनि। 

 

जुन मसँग छ', बार्सिलोनाकी मोडल रोयो यस्तो उत्तर दिँदै निर्णायक मण्डलको ध्यान खिचेकी थिइन्। 'फर्मासिस्ट' विषयमा अध्ययन सकाइसकेकी छिन्।

 

मेडिसिनबाहेक संगीतमा राम्रो दक्खल भएको रोयो पियानो, हार्मोनियम राम्रोसँग बजाउँछिन्। फुर्सदका समयमा पढ्न तथा दौडन निकै रमाइलो मान्छिन्, उनी। शनिबार चीनको सान्यामा भएको करिब एक महिना लामो प्रतिस्पर्धापछि उनी विश्वसुन्दरी बनिन् भने रसियाको सोफिया निकिटचुक फस्र्ट रनर अप भएकी थिइन्।

 

इन्डोनेसियाकी मारिया हार्फान्टीले भने सेकेन्ड रनरअपमा चित्त बुझाउनु पर्‍यो। लेबनान र जमैकाका सुन्दरीले चौथो र पाँचौं स्थानमा चित्त बुझाउनुपर्‍यो।यस्तै रसिया, फिलिपिन्स, लेबनान, स्पेन, इन्डोनेसिया, जमईका, फ्रान्स, साउथ अफ्रिका, अस्ट्रेलिया र गुयानाका सुन्दरीहरू उत्कृष्ट १० मा परे।

इभानाको वृत्तचित्र उत्कृष्ट

सधैं जस्तै यस पटक पनि नेपालले कुनै पनि विधामा सफलता प्राप्त गर्न सकेन तर मिस नेपाल इभाना मानन्धरले बनाएको वृत्तचित्र 'ब्युटी विथ पर्पोज' उत्कृष्ट दसमा पर्न सफल भएको छ। मानन्धरले बनाएको भूकम्पसम्बन्धी वृत्तचित्रले उनलाई उत्कृष्ट १० मा पर्न सफल बनाएको थियो ।