कविता-'युद्धका नदीहरू'–वैरागी जेठा

Posted on: July 20, 2016 | views: 481

युद्धका नदीहरू
कोलाहल गुञ्ज्याइरहेछन्
आज
मेरो दृष्टी
एकाएक
पुष्पकमलमा ठोकिन्छ
त्यो युग सम्झिएर
आँखालाई तृप्त गर्छु
रानीपोखरीको
पुष्पकमल हेरेर
भनिरहेछु
सावधान !
पोखरीमा फूल्न छोडेर
कालपत्रेको
ओबानो भूँइमा नफुल्नू पथ्र्यो
तिमी
मरु पर्वतको उचाइ देखेर
डाहा हुनु स्वभाविक हो
जहाँबाट रगतका धारा बगिरहेछन्
समुद्रको लहरजस्तै
कमललाई वास्तै छैन
अङ्गरुको धुवाँले सेकाइएको
देश बनिरहँदा
तिमीहरू नलड भन्न सकेका छैनन्

धर्मसङ्कटमा छैन
मानिसहरू दुविधामा छैनन्
मेरो हृदय
कमल पोखरीमा
फुलिरहेको पुष्पकमलमा बज्रिन्छ
एकाएक
छ्याङ्ङ हुन्छ
सपनाहरू
मुक्तिका पर्खालहरूमा
आफू अलिकति नफुलेर
हिलाम्मे पोखरीमा
अशोक वृक्षझैँ माथि उठ्न सकिरहेको छैन
ऊ ,हामीसँगै
उच्चाइमा पुग्न सकेको छैन
युद्धका नदीहरू
आफ्नै बेगमा कुदिरहेछन्
परिवेश र अन्र्तदृष्टिलाई
बन्द झ्यालबाट
निकाल्न सकिरहेको छैन
अकर्मण्यताको युद्ध
ट्रेन्च खनेर बसिरहेछ
हाम्रो छातीमा
सन्तुलन गुड्न नसकेर
हातका पञ्जाझैँ मिल्न नसकेर
वर्तमान समय
कालो मसीझैँ पोखिएको छ
हाम्रो यात्रामा
भोको पेट लिएर
स्पाती यात्रामा निस्केका
राता मानिसहरू
रित्तो घैला हल्लाइरहेछन्
कठै
उनीहरू
पुष्पकमल फूलेको हेर्न
थवाङ्बाट जलजला हुँदै झरिरहेछन्
युद्धका नदीहरू
पोखरी टालटुल गर्न
कसैलाई फुर्सद छैन
अरुजस्तो पटक्कै होइन म
पुष्पकमल रुचाउँदैनन्
ध्यानपूर्वक हेरी रहन्छु
शहरमा उनका यात्राहरू
डुब्छु हम्फाल्छु
कमल पोखरीमा
युद्धका नदीहरू
विश्वास गर्दैनन्
डुब्छ मनहरू चुर्लुम्म
आवाज सुस्त हिँड्छ
कता कता
छ्यापछ्याप्ती लेखिएका समाचारले
आँधी–व्यारी बनाउँछ मन
चुनवाङ पहाड तिर
वासना हराएको फूललिएर
कसरी चढ्ने छ
उसको दया लाग्छ
रङ्गीन मान्छेहरू
घर भित्र
पासा थापिरहेछन्
ऊ पत्तो पाउँदैन
फरक आँखाले हेरिरहेछु
जलजलाले के सोचेको छ
पटक्कै ध्यान दिन्न
हरेक आफ्नो कुराहरू
बादलझैँ बदलिरहेको हुन्छ
युद्धका नदीहरू
मलाई लिन आउँछन र हिँड्छु
मित्रताको खोजिमा
उनीहरू गहिरीएर बगिरहन्छन्
एक साथ
ऊ, नदी हुनसक्दैन
पुष्पकमल
पटकपटक ओइलिन्छ
म हामी सिलिङमा झुण्डिरहेकाछौँ
चमेराहरूझैँ
उनी देख्तैनन्
किसानी झण्डाहरू फरफराइरहेका
उनीहरूका छोराछोरीहरू
कोही झुकेका छैनन्
तामा बाँसझैँ
जुनेलीमा
युद्धका नदीहरू
क्रीडा गरिरहेछन् ।
पुष्पकमल
हावामा चल्बलाएझैँ लाग्छ
म हेरिरहेछु
युद्धका छालहरूमा पौडिरहेका
गरीबका सन्तानहरू
छाम्छु
विचारका बागहरूको
धज्जी उडाएर
कमलका फूलहरू झरिरहेछन्
आज यहाँ ।