पाठशालाको मदिरा -कृष्ण कट्टेल

Posted on: June 09, 2016 | views: 656

अब नानीहरुलाइ
पाठशालामा सपना बाढ्न छोड्नुपर्छ
पगिता काल्पनिक बच्चनका
सुइहरु घोपेर
कलिला मस्तिष्कलाइ
मताउन छोड्नुपर्छ

ऐँसेलुघारीमा हुर्किएका
निर्दोष खाली दिमागलाइ
प्रयोगशाला बनाएर
पुग्नै नसकिने दुनियाँको
दन्ते कथा सुनाएर हो
आजभोलि गाउँ रित्तिएको
पाखो उजाडिएको

सुनेको भरमा सपना बोकेर
आधा उमेर भौतारिएका
मेरा गाउँका मेस्सी रोनाल्डोहरु
आजभोलि अरबतिर
जीवन पढिरहेका छन् ।

मेरा गाउँका माओ लेनिन र गान्धीहरु्
युङ्ग,फ्रायड र कार्ल माक्र्सहरु
मदिराले पखालिरहेका छन्
दिमागभरी बोकेका पगिता सपना

ब्रमाण्डमा लुकेका सत्य भेट्छु भन्ने
मेरा गाउँका निल आर्मस्ट्रङहरु
आफुभित्रको मान्छे भेट्न नसकेर
निर्जीव जीवन बाचिरहेका छन्

कहिलेकाहि मनले बटुलेका आँट
र मस्तिष्कले देखाएको बाटो पनि
यी पैतालाहरु पुग्न नसक्दा
परिस्थितीको दास बनेर
हल्लिनु पर्दोरहेछ
नसोचेको रंगमञ्चमा ।

पाठशालादेखि
हृदयले बोकेको सपना
सपनाकै दुनियाँमा छोडेर
यथार्थको कोक्रोमा
हल्लिरहने यो जीन्दगीलाइ
खै किन पटक पटक ऐठन गरिरहन्छ
छोडिगएका सपनाहरुले

त्यसैले
नानीहरुलाइ सिकाइनुपर्छ अब
माटोमा मुटु रोपेर
अक्सिजन फलाउन
पिलाउनुपर्छ प्यास सुहाउँदो पानी
बोकाउनुपर्छ आँट सुहाउँदो भारी
तवमात्र ताराहरु भेटिनेछन्
हाम्रै टोल – टोलमा ।।