लोग्ने बेचिएको धेरै भयो-एलिसा पौडेल 'एकता'

Posted on: May 03, 2016 | views: 3640

कोहि छौ?
कोही मलाई सुनिरहेका छौ?
छौ भने
लौन
फिर्ता ल्याइदेओ
मेरो लोग्ने बेचिएको धेरै भयो
पुलिस प्रशासन
राज्य, सरकार
या,
कुनै संघांसस्था
छौ कोही
मेरो बेचिएको लोग्ने फिर्ता ल्याउनसक्ने?

टारी खेत बेचेर
घरबारी बन्धक राखेर
आफ्नो
शैक्षिक योग्यताको प्रमाणपत्र
आमाको सन्दुकमा थन्क्याएर
मेरो लोग्ने
मिर्मिरेमै हिँडेका हुन्
यो राज्यले
हातमा राहदानी थमाइदिएदेखि
बेपत्ता छन् मेरो लोग्ने
कहाँ छन्
कस्तो छन्
के गर्दै छन्
मलाई थाहै छैन
उनी जिउँदै छन्
कि मरिसके??

हो
दुई साल पहिले
एउटा
पत्र पाएकी थिएँ
उनैले पठाएको
लेखेका थिए
सानु
मरुभूमिमा
काकाकुलको जिन्दगी जिउँदै छु
यहाँका मान्छे
मेरो खुन पिउँछन्
म आफ्नो
आँसु र पसिना पिउँदैछु
बाटो नहेर प्रिया
अब फिर्ता आउँदैन
तिम्रो बेचिएको लोग्ने

मेरो सिन्दुरको कसम
मेरो पोतेको कसम
सुन्दैछौ भने मेरो पुकार
देख्दैछौ भने मेरो दर्द
जाऊ कोहि
गएर कारवाही गर
खुल्लेआम
मान्छे बेच्ने लाइसेन्स लिएर बसेका
ठेकेदारहरुलाई
मेरो लोग्नेजस्तै
कैयन् लोग्नेमान्छेहरु बेच्ने
कानुनी दलालहरुलाई