कविता– 'अछुतको प्रेमगीत' : अभय श्रेष्ठ

Posted on: June 03, 2016 | views: 671

म छु वारि भीरमाथि
पिँजराको बुलबुलझैँ पारि छ मेरो प्यार ।

जसरी जैसीकोठामा चल्छ
खिया लागेको पुरानो घडी
ठीक त्यसरी नै चल्छ
नयाँ संविधानमा सत्ताको रथ
त्यसरी नै तिम्रो नजरमा
म अझै
पिँढीभन्दा तल
गिडगिडाइरहने उही पुरानै अछुत हुन्छु ।

हार्नेहरूको वीरताझैँ मेटिन्छ
त्यहाँ मेरो आँसु, पसिना र रगतको धारा ।

मलाई विश्वास छैन–
प्यारको आकांक्षामा वर्णको कुनै दायरा हुन्छ
म मान्दिनँ–
प्यारको संसारमा निषेधको कुनै भित्ता हुन्छ
एक बारको अमूल्य जुनीकै जोखिममा
रोजेको हँु मैले एक ‘सवर्ण’ युवतीको प्यार
भोरको मन्द हावाझैँ मेरो हृदयमा नित्य ठोकिएको
प्रेमको जबाफमा
किन रोकिन्छ मलाई प्रेमनगरको प्रवेशद्वारमा ?

मान्छेको निर्दोष रगत र अक्षत प्रेमलाई
जिउँदै जल्न नदिन
अब त मसँगै छन्
वर्णको प्रदूषित हावा र प्रेमको निषेधमा
निःसासिएका सहस्र मानिस
प्रेमको पवित्र सौन्दर्यशास्त्रले पनि
भन्न सक्दैन मेरो पवित्र प्रेमलाई अपवित्र
यो देशको सर्वोच्च विधान
रगतले सिँचेको यो भूमि,
पसिनाका बुँद,
यो घाम, यी जूनतारा
बतास र रूखपातले पनि
युगमाथि तर्जनी औँला ठड्याइसके ।

तर, हरेक पटक प्यारको आकांक्षामा
मेरो कलेजाको मध्य भागमा रोपिन्छ जातको खन्जर ।

म प्यारको अतुल गहिराइमा
बोल्छु मौन भाषा
त्यसलाई तिमी तरबारले थुन्छौ
जबाफमा वाचाल छ मेरो मौन
छाड्नु छ मैले यहाँ पवित्र प्रेमको डोब
दिनु छ युगलाई प्रेमको भाषामा
एउटा बाफिलो जबाफ
यो देश सबैको फूलबारी हो भने
मत्स्यवेदको प्रवेशद्वारमा तोड्नु छ मैले निषेधाज्ञा ।

म पनि त चाहन्छु
यो शान्त शरद्मा नचलोस् आँधीहुरी
मेरो पवित्र प्यारको आकांक्षामा
नखलबलियोस् कुनै रूखको जरा
नलागोस् कुनै वनमा डँडेलो
तर, दुनियाँमा कैयन् यस्ता कुरा छन्
जसलाई नजलाए
यहाँ धेरैले जिउँदै जल्नुपर्छ ।