म मरेको साँझ -हेम प्रभास

Posted on: May 02, 2016 | views: 275

म मरेको साँझ
हुनेछैन यो देशमा
कुनै हल्लाखल्ला !

रुनेछैन आकाश
भासिनेछैन धर्ती
र, टुट्नेछैन– प्रेमको आदिम गीत !

उसैगरी दौडनेछ बतास
जसरी दौडन्थ्यो हिजो–
आफ्नाहरुको सुवास बोकेर बगैँचाबाट !
उसैगरी अस्ताउनेछ घाम
जसरी लुक्थ्यो ऊ–
आफ्नै अनुहारमा कालो पोतेर क्षितिजपारि !
उसैगरी हतारिँदै झर्नेछ झरना
जसरी झथ्र्यो ऊ–
महासागरमा हराएको प्रेमपत्रको खोजीमा
हतारहतार !

उः त्यो घरअगाडिको बूढो पीपल ?
त्यो त मेरी आमा हो !
मैले उसैको पिठिउँमा बसेर
पहिलोपटक पढेको थिएँ–
परदेशबाट–
बुबाको गन्ध बोकी ल्याएको पत्र !
त्यहीँ बसेर
मूलबाटोमा ओहोरदोहोर गर्ने
गाईहरुको सङ्ख्या गन्दै
मैले सिकेको थिएँ– गणित !
म मरेको साँझ
मेरो मृत शरीर ढाक्ने पीताम्बरस्वरुप
त्यही पीपलले पनि दिनेछैन–
उपहारमा– पहेँला पातहरु !

कतै सुनिनेछैन शोकधुन
बरु बज्नेछ रेडियोमा– कृषि कार्यक्रम
र, एकाध कृषकहरु सुन्नेछन्–
बाढीले बगाएको आफ्नै खेतको समाचार !
बरु देखिनेछ टेलिभिजनमा–
तानाशाहको मुस्कुराइरहेको जुँगा !
पृष्ठभूमिका चुलिँदै गएको
महँगीको शिखरमा अडेस लागेर
पोहोरसालझै सानसँग उसले भन्नेछ जरुर–
‘हामी कृषि क्रान्ति गर्नेछौँ’ ।

हाम्रो सपनाभन्दा धेरै टाढा
कुनै रङ्गीन सहरको डान्सबारमा
त्यतिखेर गुन्जिरहेको हुनेछ–
‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए ... !’
र, त्यहाँ आँसु लुकाएर नाचिरहेकी हुनेछे–
देश पढ्न गएकी मेरी बहिनी !

म मरेको साँझ
हुनेछैन यो देशमा
कुनै हलचल !

यत्ति कुराको अपसोच हुनेछ मलाई–
मुगलानबाट फर्कन लागेकी तिमीले
कतै भेट्नेछैनौ– मेरो ठेगाना !
———