कविता : 'पिलिको आकाश'–वैरागी जेठा

Posted on: May 01, 2016 | views: 233

पिलिको आकाशबाट
सेनका कविताहरू बज्रिरहँदा
एलएमजी आगो , ओकलीरहेथ्यो
चन्द्रागिरिका भित्ताहरूमा
वैचारिक सम्पत्ति
मग्मा र रविगाउँहरूका
आकाशमा
तरङ्गहरू उडिरहे
हाम्रा पसिनाका वाफहरूसँगै
आन्तरिक गडबडहरूको
प्रवाहित लडाईहरूले
मलाई बिझाएको छ
मित्रहरूको अवरोध तोड्दै
सैपालको घाँटी उक्लेर
चाम्रो रौँझैँ ठडिएक
अग्ला घाँसहरूका
अनुराग आँखाहरू
सेनका गीत गाइरहेछन्
मेरो छातीमा
हुरिँदै पसेको घाम
हाम्रो युद्धको
कविता लेख्छ
म लेख्छु
युद्धको आरनमा
कृष्णसेन र चुनुहरू
मेरो देशको नाउ
प्रचण्ड नेपाल
कलमका निफहरू
छिर्लिङ छिर्लिङ गरिरहेछन्
मूर्ख नेताहरू
भाषा जान्दैनन्
जनसेनाहरू ओइलीरहेछन्
अक्षर नचिन्नाले
साथीहरूले अझै
चुम्बन गरिरहेका छैनन्
एलएमजीका सुगन्धलिएर
म आकाशमा कुदिरहेछु
पिलिवरिपरि
दुःखदायी कथाका बिउहरू छरिएकाछन्
मेरो हृदय
खँलातीझै चलिरहेछ
विचारको धूँवा उठाएर
युद्धको नदी बगाइरहेछ
अग्ला अग्ला घाँसहरूले
छोपिएका ,पिलिका बारीहरू
हराएका मानिसहरू खोजिरहेछन्
उच्याटलाग्दा गाउँहरूमा
जिउँदा मानिसहरूले
आफैँलाई मारिरहेका बेला
पिलिको आकाश हेरिरहेछु
सेनका पदचाप छामेर ।