निधारको लम्बाई -जयन्त सोकल

Posted on: May 28, 2016 | views: 773
कोटको चुटिनै लागेको टाँक

बाँङ्गो टेकिएका
एक जोर मैला जुत्ता
शैलुन मालिकको खस्रो हातले
निखार नुखुर मिलाईएका जुगाँ
आफै अटाउन नसकेको पुरानो झोला
र जिवनको तिर्खा मेटाउन किनेको पेप्सी बोकेर
त्यो बुढो मान्छेले रेलको
टिकट काट्यो
आफ्नो भन्दा महङ्गो भाउमा।


कुनै जुगौँ पारिको यादले
आफ्नो सारा उमेरका
चमेली फुल ओईलाउदै गर्दा
उस्ले सम्झि सम्झि
समायो
पावर घटेका हातका औलाहरुले
पावर बिलाई सकेको चस्माको
रगँ उडेको बिँड र
कसो कसो अल्झायो नाकमा

रुझु गर्यो
सारा जिवन हतास नगरि हिडेको बाटो
हिम्तिलो हातको लौरो
अझै प्वाल नपरेको तलुवा
मरुभुमी एउटा मन
अनेक फेर सम्झिाई रहने यादहरुको रास
र हातको पहेँलो टिकट

टिकट जाँचकिलाई जँचायो
आफुले जिबन भरि देखेका सपना
आमाले सेकिदिएको तालु
र भाग्य
बाटो छेक्ने बाचाहरु
र केहि क्षण अगाडी किनेको टिकट

टिकट जाँचकिले ओके गर्यो टिकट
र बुढो ओर्लियो प्लेटफर्ममा

पर्खियो केहि क्षण
आफ्नो अगाडी उभिएको गन्तब्य
यो पृथ्वीको पाँचौ दिशाको लस्कर यात्रा
घडिको दिकदार लाग्दो टक् टक्
र त्यस पछि चढ्यो रेल।

रेल कुद्न थाल्यो
यति बेला बुढोले सम्झेको छैन्
यहि लिकको फलाम बोकेका भोका रातहरु
अभावको खाडलमा जोतेको आफ्नो निधार र
प्रेमिकाको चुम्बन पनि
सम्झिनलाई के छर? जिवनमा
बुढो आफैलाई थाहा छैन्।
रेल कुदि रहेको पनि उस्लाई थाहा छैन्।