सम्पादकको नाममा –गिरिजा अधिकारी

Posted on: May 02, 2016 | views: 286

सम्पादक, मेरो बाध्यतालाई
अखबारको ‘ ब्यानर न्यूज’ बनाउँछ

गिठ्ठा भ्याकुर खाएको फोटो
क्यामेरामा कैद गर्न लगाएर
सम्पादक,
त्यसमा मिठो क्याप्सनसहित
ब्यानर न्यूजमा सजाउँछ
भोको पेटले असह्य भएर मरेकी
महिलाको कथालाई रंगीन अक्षरहरुमा
‘एङ्कर न्यूज’ बनाउँछ
सम्पादक अचेल
आँशुको पोखरी खोजी हिँड्छ
रगतका फाल्साहरुमा
‘ए’ ‘बी’ ग्रुप बुझी हिँड्छ
टपक्क टिपेर विवशता
अखबारको कार्टुन बनाउँछ
मेरो सम्पादक
कयौँ रात सडकमा विताएको प्रसंगलाई
मध्यपृष्ठको ‘पढ्ने’ कथा बनाउँछ
दरिद्रता देखिने ‘दामी’ फोटोलाई
बारम्बार छाप्छ
मेरो सम्पादक
सधैँ विवशतालाईं
अखबार भरि सजाउँछ ।
हुन पनि हो
‘बबरमहल ’ पड्किन्छ
गरिबको थाप्लोमाथि ‘ड्याम्म’
कालिमाटी बल्छ
मजदुरको सपना जलाउने गरी ‘हुरुहुरु’
त्यतिबेला सम्पादक
रातो कलमले आदेश लेख्छ
‘बबरमहल’ ब्यानर न्यूज
‘कालिमाटी’ एङ्कर न्यूज

सम्पादक,मेरो बाध्यतालाई
अखबारको ‘ब्यानर न्यूज’ बनाउँछ ।