कविता : 'मृत्युको अनुहार' -सुरेश बादल

Posted on: May 03, 2016 | views: 828

एकाबिहानै पाल्पाकि एक बालिकाको बलात्कार पछि हत्याको खबर पढ्दा मन अमिलो भयो र छटपटिबाट यो कविता लेखेँ!

-------------------

मेरो आफ्नै भाईले
मेरो जुठो चिउरा खाँदैनथ्यो
तब कसरी चाट्न सक्यो त्यो पराईले
र के स्वाद भेट्यो
मेरो कलेटि ओठमा?

के छ खै मेरो नांगो छातीमा
कि खोतलिरह्यो र खोजिरह्यो उसले
किन लुछ्यो मेरो करंगमै टाँसिएको छाती
र गाडिदियो दाँतहरू।

खै के घुसायो कुन्नि
मेरो 'सुसु'मा
बग्यो रगत र भिज्यो माटो
तर पनि संवेदनाले भिजेनन् उसका आँखाहरू
पोलिरह्यो भतभति
असह्य पीडामा बेहोसिएँ आमा म

सायद यो पीडा नै थियो क्यारे
मृत्युको अनुहार
अभिशप्त जिन्दगी त झनै
कहालीलाग्दो हुनेथियो
त्यसैले आमा
उसले घाँटि थिचेर मेरो
मलाई गुन लगाएर गएको छ
आमा अब त मलाई
इत्ति पनि दुख्दैन, पोल्दैन
रगत पनि जमिसक्यो, अब बग्दैन।